धनगढी । नेपाली कांग्रेसको समानान्तर महाधिवेशनको तयारी गरिरहेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले डा. आरजु राणा देउवालाई कैलालीको धनगढीबाट क्षेत्रीय प्रतिनिधि चयन गरेको छ।

धनगढी उपमहानगरपालिका–४ को वडा अधिवेशनबाट आरजु सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि चयन भएकी हुन्। लामो समयदेखि विदेशमा रहेकी आरजुको प्रतिनिधित्व भने वारेसनामामार्फत गरिएको जनाइएको छ।

कांग्रेस नेता तथा धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष बुद्धि खड्काका अनुसार वडा अधिवेशनबाट आरजुसहित ५१ जना क्षेत्रीय प्रतिनिधि र १८ सदस्यीय वडा समिति चयन गरिएको छ।

कांग्रेसको संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियाभन्दा अलग्गै देउवा समूहले समानान्तर रूपमा आफ्नो अधिवेशन प्रक्रिया अघि बढाइरहेको छ। देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेको हो।

यसैबीच, निवर्तमान सभापति देउवा पनि आफ्नो गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। काठमाडौंमै रहेका देउवाले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका थिए।

प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com