काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिने सामान्य मतभेदबाट कार्यकर्ता तथा शुभेच्छुकहरू अलमलिन आवश्यक नरहेको बताएका छन्।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले राजनीतिक दलभित्र विचार र असन्तुष्टि देखिनु स्वाभाविक भएको उल्लेख गर्दै त्यसकै आधारमा पार्टी विभाजन हुने अवस्था नरहेको स्पष्ट पारे।

उनका अनुसार आगामी १८ गतेदेखि सुरु हुने कांग्रेसको महाधिवेशनले पार्टीभित्रका सबै पक्षलाई समेटेर अघि बढ्नेछ। निर्वाचनमा पराजित हुँदा देखिने असन्तुष्टि पनि समयसँगै समाधान हुने उनको भनाइ छ।

प्राकृतिक विपद्का कारण आवागमन प्रभावित भएपछि यसअघि १६ गतेका लागि तय गरिएको महाधिवेशनको उद्घाटन दुई दिनपछि सारिएको कांग्रेसले जनाएको छ।

यसपटकको महाधिवेशनलाई सादगी र मितव्ययितामा केन्द्रित गर्ने तयारी गरिएको छ। बाढीपहिरोका कारण मुलुक शोकमा रहेकाले भड्किलो सजावट, झाँकी तथा अनावश्यक प्रचारप्रसार नगर्ने कांग्रेसले जनाएको छ।

महाधिवेशनको उद्घाटन काठमाडौंको खुलामञ्चमा हुनेछ भने बन्दसत्र भृकुटीमण्डपमा आयोजना गरिनेछ। प्रतिनिधिहरूको व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन परिचयपत्रमा क्युआर कोड राखिएको छ। क्युआर कोडमार्फत आवास, भोजन तथा बन्दसत्रसम्बन्धी विवरण मोबाइलबाटै हेर्न सकिने व्यवस्था गरिएको छ।

महाधिवेशन व्यवस्थापनका लागि कांग्रेसले विभिन्न १५ वटा समिति गठन गरी तयारी अघि बढाएको छ। प्रतिनिधिहरूको आवास व्यवस्थापनका लागि प्रत्येक प्रदेशबाट एक–एक जना संयोजकसमेत तोकिएको पार्टीले जनाएको छ।

प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com