काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दिपक भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको छ।
नख्खु कारागारमा रहँदा भट्टले आफ्नो मुद्दासँग सम्बन्धित व्यक्तिहरूसँग भेटघाट तथा सम्पर्क बढाएको र मुद्दा प्रभावित पार्ने प्रयास भएको आशंकापछि उनलाई अर्को कारागारमा स्थानान्तरण गरिएको स्रोतको दाबी छ।
पछिल्लो समय भट्ट र पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्तिहरूबीचको सम्पर्कलाई लिएरसमेत प्रहरी अनुसन्धान केन्द्रित भएको छ। प्रहरी अनुसन्धानका क्रममा जबरासँग निकट सम्पर्कमा रहेका भनिएका इनाम सापकोटा र नख्खु कारागारमा रहेका भट्टबीच फोन सम्पर्क भएको विवरण फेला परेको प्रहरी उच्च स्रोतले जनाएका छन्।
प्रारम्भिक अनुसन्धानमा सापकोटामार्फत भट्ट र सुलभ अग्रवालसँग जबराको सम्पर्क हुने गरेको देखिएको प्रहरी स्रोतको दाबी छ। भट्ट र अग्रवालको मुद्दा मिलाउन सापकोटाले मध्यस्थकर्ताको भूमिका खेलेको हुनसक्ने विषयमा समेत अनुसन्धान भइरहेको जनाइएको छ।
यसैबीच, भट्टलाई उन्मुक्ति दिलाउने प्रयास भएको आशंकाकै कारण पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको हुनसक्ने चर्चासमेत सार्वजनिक रूपमा चलेको छ। यद्यपि, जबरालाई नियन्त्रणमा लिनुको आधिकारिक कारणका रूपमा प्रहरीले सुरक्षा चुनौती तथा थप अनुसन्धानको विषय उल्लेख गरेको छ।
भट्टलाई यसअघि डिल्लीबजार कारागारबाट नख्खु सारिएको थियो। कारागार व्यवस्थापन विभागको निर्देशनपछि उनलाई नख्खु स्थानान्तरण गरिएको थियो।
भट्टलाई सिन्धुपाल्चोक कारागार स्थानान्तरण गर्नुको औपचारिक कारणबारे सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार












प्रतिक्रिया