काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरिएको विषयलाई लिएर सांसद ज्ञानेन्द्र शाहीले पार्टी सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन्।
केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ बाँडेर त्यसको प्रवर्द्धनमा सहयोग पुर्याएको भन्दै शाहीले लामिछानेलाई आभार व्यक्त गरेका हुन्। उनले पार्टीको बैठकमार्फत जुम्लाको स्याउको प्रचार हुनु किसानका लागि सकारात्मक सन्देश भएको बताए।
साथै, सरकार र कृषि मन्त्रालय रास्वपाकै नेतृत्वमा रहेकाले जुम्लाका किसानले उत्पादनको उचित मूल्य नपाइरहेको विषयमा सरकारले आवश्यक ध्यान दिनुपर्ने उनले बताए।
शाहीले जुम्लाको स्याउ बजारमा उपलब्ध रहने अवधिभर विदेशबाट आयात हुने स्याउ रोक्न सरकारसँग आग्रह गरेका छन्।
‘जुम्लाको स्याउ बाँडेर यसको प्रचार गरिदिनुभएकोमा धन्यवाद। अब जुम्लाको स्याउ बजारमा रहने समयसम्म विदेशबाट आउने स्याउ रोकिदिनुहोस्,’ उनले भने, ‘यति गरिदिनुभयो भने जुम्लेली किसानले तपाईंको यो गुण कहिल्यै बिर्सने छैनन्।’
उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै जुम्लाका किसानले उत्पादन गरेको स्याउका लागि उचित बजार र मूल्य सुनिश्चित गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए।
शाहीले किसानको उत्पादन बजारमा आउँदा विदेशी कृषि उपजको आयात नियन्त्रण गर्न सके स्वदेशी उत्पादनको बजार विस्तार हुनुका साथै किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने अवस्था बन्ने बताए।
प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार











प्रतिक्रिया