काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले नयाँ पुस्ताका राजनीतिक नेतृत्वबाट पनि देश निर्माणको स्पष्ट संकेत नदेखिएको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले पुरानो पुस्तादेखि नयाँ पुस्तासम्मका राजनीतिक नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए।
काठमाडौंको खुलामञ्चमा आयोजित समारोहमा उनले विगतमा आफूलाई युवा बताउने पाका नेताहरूले देश बिगारेको र अहिले नयाँ पुस्ताका नेताहरूले पनि देश निर्माणको आशा जगाउन नसकेको बताए।
उनले भने, ‘हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे। अहिले कपाल पूरै काला भएकाहरूले पनि देश बनाउने कुनै छनक देखाएका छैनन्।’
पुरानो र नयाँ दुवै अतिवादबाट मुलुकको विकास सम्भव नहुने उनको भनाइ थियो। अब देश निर्माणको जिम्मेवारी मध्यम पुस्ताका नेताहरूले लिनुपर्ने चौधरीले बताए।
‘अब आधा–आधि कपाल फुलेका, गगनजी तपाईंको जस्तो १०–२० वटा दाह्री र ५०–६० वटा कपाल फुलेका नेताले देश पक्कै बनाउँछन् भन्ने मलाई विश्वास छ,’ उनले भने।
समारोहमा उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेतर्फ संकेत गर्दै चौधरीले लोकप्रिय मत पाएर संसद्मा पुगेका नेताहरूलाई जेल हाल्ने राजनीतिक प्रतिशोधको प्रवृत्ति अन्त्य हुनुपर्ने बताए।
उनले राजनीतिक प्रतिस्पर्धाका नाममा प्रतिशोध साध्ने कामले लोकतन्त्र र मुलुकको हित नगर्ने धारणा राखे।
यसैगरी, संविधानले अधिकार सुनिश्चित गरे पनि ६.७ प्रतिशत जनसंख्या रहेको थारु समुदाय राज्यका महत्वपूर्ण तथा उच्च पदबाट अझै वञ्चित रहेको चौधरीले बताए।
उनले थारु समुदायको राजनीतिक तथा प्रशासनिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै ऐतिहासिक टीकापुरलाई तत्काल छुट्टै जिल्ला घोषणा गर्न पनि सरकारसँग आग्रह गरे।
प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार












प्रतिक्रिया