काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका छन्।
बेलायती सेनाका प्रमुख जनरल रोली वाकरको निमन्त्रणामा प्रधानसेनापति सिग्देल बेलायत गएका हुन्। नेपाली सेनाका अनुसार उनको भ्रमण असोज १९ देखि २५ गतेसम्म हुनेछ।
बेलायत प्रस्थान गर्नुअघि प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए।
नेपाली सेनाले प्रधानसेनापतिको भ्रमणबाट नेपाल र बेलायतबीच लामो समयदेखि कायम रहँदै आएको पारस्परिक सैनिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।
नेपाली सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भ्रमणले सदियौँदेखि रहँदै आएको दुई देशबीचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।’
प्रधानसेनापति सिग्देल बेलायतमा रहँदा उनको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन्।
प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार












प्रतिक्रिया