काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ सरकार गठनपछि बाहिरबाट मुलुकको अवस्था सामान्य र शान्त देखिए पनि जनतामा रहेको असन्तुष्टि तथा आक्रोश भने नघटेको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले समाजमा ठूलो अविश्वास, निराशा र असन्तुष्टि रहेको भन्दै यसको समयमै सम्बोधन हुन नसके जुनसुकै बेला फेरि जनउभारको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिए।
उनले अहिले चुनाव सम्पन्न भएर नयाँ सरकार गठन भएको, सरकारसँग दुई तिहाइ बहुमत रहेको र आफूहरू प्रतिपक्षमा रहेको अवस्थामा राजनीतिक रूपमा सबै कुरा सामान्य देखिए पनि वास्तविक अवस्था त्यस्तो नरहेको बताए।
‘अहिलेको समय झट्ट हेर्दा शान्त छ। चुनाव भएको छ, सरकार छ, दुई तिहाइको बहुमत छ, प्रतिपक्ष छौँ, सबै ठीकठाक देखिन्छ। तर यस्तो होइन,’ थापाले भने।
हालैको मधेशको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले सानो घटनाले समेत एकाएक ठूलो असन्तुष्टि र आक्रोशको रूप लिन सक्ने अवस्था रहेको बताए।
‘अस्ति भर्खर मधेशको घटनाले के देखायो भने सानो एउटा घटनाले पनि एकाएक आगो बल्न सक्ने अवस्था छ,’ उनले भने।
थापाले नेपाली समाज अझै बेचैन र अस्थिर मनोविज्ञानबाट गुज्रिरहेको दाबी गरे। चुनाव सम्पन्न भएको र नयाँ राजनीतिक शक्ति सरकारमा आएको अवस्थालाई मात्र आधार बनाएर जनताको असन्तुष्टि समाप्त भएको निष्कर्ष निकाल्न नहुने उनको भनाइ थियो।
‘नेपाली समाज बेचैन छ, ठूलो फ्रस्टेसन र असन्तुष्टि छ। चुनाव भयो, नयाँ पार्टी आएको छ, सबै ठीकठाक देखिन्छ। तर यो असन्तुष्टिका कारणहरू सम्बोधन नभएकाले कुनै पनि बेला फेरि कुनै पनि खालको जनउभारको स्थिति आउन सक्छ,’ थापाले भने।
उनले जनताको असन्तुष्टिका मूल कारण पहिचान गरी सम्बोधन गर्न राजनीतिक नेतृत्व र सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार












प्रतिक्रिया