काठमाडौं । नेपाली कांग्रेसले पार्टीका राजनीतिक आन्दोलनमा योगदान पुर्‍याएका शहीद, द्वन्द्वपीडित तथा घाइतेका परिवारलाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्न १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने प्रस्ताव अघि सारेको छ।

काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा पार्टीका आन्दोलनमा योगदान दिएका परिवारप्रति दीर्घकालीन जिम्मेवारी र अपनत्व कायम गर्ने उद्देश्यले यस्तो कोष स्थापना गर्ने नीति प्रस्ताव गरिएको हो।

प्रस्तावमा सम्बन्धित परिवारको शिक्षा तथा स्वास्थ्यमा सहयोग पुर्‍याउने गरी १० करोड रुपैयाँको अक्षय कोष स्थापना गरिने उल्लेख छ। कोषको रकम पारदर्शी रूपमा संकलन तथा सञ्चालन गर्नुका साथै नियमित लेखापरीक्षणको व्यवस्था गरिने प्रस्तावमा जनाइएको छ।

‘सम्बन्धित परिवारको शिक्षा तथा स्वास्थ्य सहयोगका लागि दश करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने प्रस्ताव पारदर्शी संकलन, सञ्चालन र लेखापरीक्षणसहित अघि बढाइनेछ,’ राजनीतिक प्रस्तावमा भनिएको छ।

कांग्रेसले सामाजिक तथा राष्ट्रिय सरोकारका विषयमा पार्टीलाई प्रत्यक्ष रूपमा नागरिकसँग जोड्ने उद्देश्यले ‘राष्ट्रिय सरोकारका लागि नेपाली कांग्रेस’ अर्थात् ‘एनसी फर एनसी’ अभियान सञ्चालन गर्ने प्रस्ताव पनि अघि सारेको छ।

प्रस्तावअनुसार जातीय विभेद, बालविवाह, लैंगिक हिंसा, भ्रष्टाचार तथा सामाजिक असमानताविरुद्ध समुदायस्तरमा सक्रिय भएर काम गर्नु कांग्रेसको राजनीतिक जिम्मेवारीका रूपमा अघि बढाइनेछ।

यससँगै कांग्रेसले पार्टीलाई केवल निर्वाचन र राजनीतिक गतिविधिमा सीमित नराखी नागरिकका दैनिक सरोकार तथा सामाजिक समस्यासँग प्रत्यक्ष जोड्ने नीति लिएको प्रस्तावमा उल्लेख छ।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com