काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट आवश्यक पर्ने निष्कर्ष निकालेको छ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले उक्त बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।
पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय तथा सरकारी निकायबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। ती योजना कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय बैठकले गरेको हो।
बैठकमा प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विपद् व्यवस्थापनका काम संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा अघि बढिरहेको बताए।
उनले अब पुनर्निर्माण तथा पुनर्स्थापनाका कामलाई पनि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै अघि बढाइने बताए।
प्रधानमन्त्री शाहले विपद्पछि प्रभावित नागरिकको पुनर्स्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिए।
गत भदौ १० गते आएको भोटेकोशी–त्रिशूली बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। बाढीबाट प्रभावित क्षेत्रको तत्कालीन उद्धार तथा राहतपछि सरकारले अब दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापनाका लागि योजना अघि बढाएको हो।
प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार










प्रतिक्रिया