काठमाडौं । संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेका छन्।
गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सशस्त्र प्रहरी बल, नेपालले एआईजी दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोपमा कारबाहीका लागि मन्त्रालयसमक्ष सिफारिस गरेको थियो।
सशस्त्र प्रहरी बलको सिफारिसका आधारमा गृह मन्त्रालयले असोज १९ गतेको निर्णयबाट दाहाललाई निलम्बन गरेको हो। साथै, घटनाको सत्यतथ्य छानबिन गर्न जाँचबुझ अधिकृतसमेत तोकिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले तोकिएका जाँचबुझ अधिकृतलाई तीन दिनभित्र अनुसन्धान सम्पन्न गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। छानबिनबाट प्राप्त निष्कर्षका आधारमा दाहालमाथि थप कानुनी तथा विभागीय प्रक्रिया अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ।
गृह मन्त्रालयले निजामती तथा सुरक्षा निकायमा कार्यरत सबै कर्मचारीले प्रचलित कानुनअनुसार पदीय आचरण पालना गर्नुपर्ने स्मरण गराउँदै सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको गोपनीयता कायम राख्नु सम्बन्धित कर्मचारीको अनिवार्य दायित्व भएको जनाएको छ।
मन्त्रालयका अनुसार संवेदनशील सुरक्षा सूचनाको अनधिकृत चुहावटलाई गम्भीर विषयका रूपमा लिइएको छ।
प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार












प्रतिक्रिया