काठमाडौं  । रसुवा जिल्लाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको मनोसामाजिक स्वास्थ्य तथा आत्मबल अभिवृद्धि गर्ने उद्देश्यले रेन्बो भोलेन्टियर क्लबले एकदिने सामुदायिक मनोसामाजिक तथा कल्याणकारी भ्रमण कार्यक्रम आयोजना गरेको छ।

बाढीका कारण विस्थापित भई काठमाडौंको स्वयम्भूस्थित नुब्री गुम्बालगायत विभिन्न अस्थायी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका आमाछोदङमो गाउँपालिकाका प्रभावित परिवारलाई लक्षित गरी आइतबार कार्यक्रम आयोजना गरिएको हो।

बाढीपछि प्रारम्भिक चरणमा खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्री उपलब्ध गराइए पनि लामो समयसम्म अस्थायी बसोबासमा रहँदा प्रभावित परिवारमा एक्लोपन, दिक्दारी, चिन्ता तथा मानसिक थकानजस्ता समस्या देखिन थालेको क्लबले जनाएको छ।

सीमित स्थानमा बस्नुपर्ने अवस्था, नियमित कामको अभाव, सामाजिक अन्तरक्रियाका कम अवसर तथा दैनिक जीवनमा आएको परिवर्तनले प्रभावित परिवारको मनोसामाजिक अवस्थामा असर पारेको बताइएको छ।

क्लबले काठमाडौंको स्वयम्भू आसपासका विभिन्न होल्डिङ सेन्टरमा गरेको स्थलगत अवलोकनका क्रममा प्रभावित परिवारका अधिकांश सदस्यको दैनिकी खाना खाने, आराम गर्ने र प्रतीक्षा गर्नेमै सीमित रहेको पाइएको जनाएको छ। रसुवाका हिमाली तथा दुर्गम क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका उनीहरूमध्ये केहीले काठमाडौं पहिलोपटक देखेको वा निकै कम मात्र भ्रमण गरेको अनुभवसमेत सुनाएका थिए।

यस अवस्थालाई मध्यनजर गर्दै रेन्बो भोलेन्टियर क्लबले राहत वितरणमा मात्र सीमित नभई प्रभावित परिवारलाई केही समय फरक वातावरणमा बिताउने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा सहभागी मध्य एक जनाले होल्डिङ सेन्टरको सीमित वातावरणमा लामो समय बस्दा मानसिक रूपमा निकै कठिनाइ भएको अनुभव सुनाउँदै रेन्बो भोलेन्टियर क्लबले नयाँ वातावरणमा घुम्ने, सिर्जनात्मक गतिविधिमा सहभागी हुने र रमाइलो गर्ने अवसर दिएपछि आफूहरूमा उत्साह थपिएको बताए।

उनका अनुसार क्लबले आफ्नै कार्यालयमा सहभागीलाई खाना खुवाउनुका साथै कला तथा सिर्जनात्मक गतिविधिमा सहभागी गराएको थियो। त्यसपछि काठमाडौंका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलको भ्रमण गराइएको थियो।

रेन्बो भोलेन्टियर क्लबका अध्यक्ष मदन पौडेलले विपद्पछि प्रभावित परिवारलाई भौतिक राहतसँगै मनोसामाजिक सहयोग पनि आवश्यक हुने भएकाले कार्यक्रम आयोजना गरिएको बताए।

‘लामो समयसम्म अस्थायी बसोबासमा रहँदा प्रभावित परिवारमा मनोसामाजिक समस्या देखिन सक्छ। सीमित स्थानमा बस्नुपर्ने अवस्था, नियमित कामको अभाव र सामाजिक अन्तरक्रियाका कम अवसरका कारण उनीहरूमा एक्लोपन र मानसिक थकान देखिन थालेको छ,’ पौडेलले भने, ‘त्यसैले राहत वितरणभन्दा माथि उठेर केही नयाँ र रचनात्मक पहल गर्नुपर्छ भन्ने सोचका साथ यो कार्यक्रम सञ्चालन गरेका हौं।’

क्लबकी चिनियाँ स्वयंसेविका मा खोइ छीङले सामाजिक सञ्जालमार्फत रसुवा बाढीका दृश्य देखेपछि प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष सहयोग गर्ने इच्छा जागेको बताइन्।

राहत सामग्री वितरणका क्रममा विभिन्न होल्डिङ सेन्टरमा पुगेपछि प्रभावित परिवारको आवश्यकता भौतिक सामग्रीमा मात्र सीमित नरहेको महसुस भएको उनको भनाइ छ।

‘लामो समयदेखि विस्थापित जीवन बिताइरहेका मानिसमा देखिएको एक्लोपन, चिन्ता, अनिश्चितता र मानसिक थकानले मलाई निकै भावुक बनायो,’ उनले भनिन्, ‘ कार्यक्रममा उनीहरूको अनुहारमा देखिएको मुस्कान, आपसी कुराकानी, हाँसो र उत्साहले मलाई गहिरो रूपमा छोयो। केही समयका लागि भए पनि उनीहरूले आफ्नो पीडा बिर्सेर खुसीका क्षण बिताएको देख्दा ठूलो सन्तुष्टि मिल्यो।’

रेन्बो भोलेन्टियर क्लबका अनुसार कार्यक्रमको उद्देश्य मनोरञ्जन प्रदान गर्नु मात्र नभई प्रभावित व्यक्तिलाई सामाजिक अन्तरक्रिया, शारीरिक सक्रियता, मानसिक विश्राम तथा सामान्य दैनिकीको अनुभूति दिलाउनु पनि हो। यसबाट समुदायबीच आपसी सहयोग, सम्बन्ध सुदृढीकरण तथा भावनात्मक सहारा प्रदान गर्दै विपद्पछिको पुनःस्थापनामा योगदान पुग्ने अपेक्षा गरिएको छ।

बौद्धनाथ क्षेत्र विकास समितिका सदस्य विशाल लामाले बाढी प्रभावितलाई बौद्धनाथ स्तूप परिसरमा स्वागत गर्दै विपद्को कठिन अवस्थाको सबै मिलेर सामना गर्नुपर्ने बताए। उनले भगवान बुद्धको कृपाले समय अनुकूल हुने विश्वास व्यक्त गर्दै प्रभावित परिवारलाई धैर्य राख्न आग्रह गरे।

कार्यक्रममा वृद्धवृद्धा, एकल महिला तथा बालबालिकासहित करिब ८० जनाको प्रत्यक्ष सहभागिता रहेको थियो। कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आमाछोदङमो गाउँपालिकाका १० जना स्थानीय स्वयंसेवकसमेत परिचालन गरिएको थियाे।

भ्रमणका क्रममा सहभागीहरूले काठमाडौं र भक्तपुरका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलको अवलोकन गर्नुका साथै आपसी अन्तरक्रिया, सामूहिक भोजन तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागिता जनाएका थिए।

कार्यक्रमको अन्त्यमा सहभागीहरू बौद्धनाथ स्तूप परिसरमा भेला भएका थिए। उनीहरूले रसुवा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको सम्झनामा मौनधारण गर्नुका साथै बाढीमा ज्यान गुमाएका तथा अझै बेपत्ता रहेका व्यक्तिको सम्मान र स्मृतिमा दीप प्रज्वलन गरेका थिए।

हिमाली बौद्ध परम्पराअनुसार दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै बाढीबाट प्रभावित सम्पूर्ण परिवारको सुख, शान्ति, स्वास्थ्य तथा कल्याणको प्रार्थनासहित सामूहिक मोन्लम (प्रार्थना सभा) समेत आयोजना गरिएको थियो।

रेन्बो भोलेन्टियर क्लबले यस्ता गतिविधिले प्रभावित समुदायको मनोसामाजिक स्वास्थ्य, आत्मबल तथा सामुदायिक एकता सुदृढ गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com