काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र एकता कायम नगरी आफूले चाहेजस्तो कांग्रेस निर्माण गर्न नसकिने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी सभापतिमा उम्मेदवारी घोषणा गर्दै राठौरले कांग्रेसलाई सबै पुस्ता, समूह र धारलाई समेट्ने साझा पार्टीका रूपमा अघि बढाउनुपर्ने बताएका हुन्।

उनले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउँदै पार्टी निर्माणमा लामो समयदेखि योगदान गर्दै आएका पुराना पुस्तालाई पनि सम्मान र जिम्मेवारीसहित समेट्नुपर्ने बताए।

राठौरले कांग्रेसको राजनीतिक विरासत निर्माणमा योगदान दिएका परिवार र नेतृत्वलाई समेत पार्टीले अपनत्व दिनुपर्ने धारणा राखे।

‘बीपी कोइरालाको छोरा नअट्ने कांग्रेस हुन सक्दैन, गणेशमान सिंहको छोरा नअट्ने कांग्रेस हुन सक्दैन, महेन्द्रनारायण निधिको छोरा नअट्ने कांग्रेस हुन सक्दैन,’ उनले भने।

पार्टीमा नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै राठौरले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा संयोजन गरेर कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए।

‘अहिलेको जेनेरेसनदेखि पुराना पुस्तासम्म, जसले यो पार्टीमा लगानी गर्नुभएको छ, सबैलाई अटाउने र सबैलाई मिलाएर अघि बढ्ने अवस्था बनाउनुपर्छ,’ उनले भने।

कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टीलाई आफ्नै संस्था र साझा राजनीतिक घरका रूपमा अनुभूति गर्ने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको राठौरले बताए।

‘यो मेरो कांग्रेस हो, मेरो पार्टी हो, हाम्रो पार्टी हो’ भन्ने भावना प्रत्येक नेता–कार्यकर्तामा विकास गराउने गरी आफूले काम गर्ने उनको प्रतिबद्धता थियो।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com