काठमाडौं । विद्यालयमा शिक्षक अभाव, कमजोर पूर्वाधार र शैक्षिक असमानताको विरोधमा फ्रान्समा जारी विद्यार्थी आन्दोलन चर्किएको छ।

सेप्टेम्बरदेखि सुरु भएको आन्दोलन मंगलबारसम्म देशभर फैलिएको छ। राजधानी पेरिसमा हुने प्रदर्शनमा २० देखि ४० हजारसम्म सहभागी हुने अपेक्षा गरिएको छ। आन्दोलन सुरु भएयता करिब ५ हजार जना पक्राउ परिसकेका छन्, जसमध्ये अधिकांश नाबालिग रहेको बताइएको छ।

शिक्षा मन्त्रालय र विद्यार्थी संघका अनुसार फ्रान्सका ३ हजार ७०० उच्च माध्यमिक विद्यालय र ३२ विश्वविद्यालयमध्ये ५८९ मा पठनपाठन प्रभावित भएको छ।

विद्यार्थीहरूले पर्याप्त शिक्षक, विद्यालयमा आवश्यक स्रोतसाधन र पूर्वाधार तथा समान शैक्षिक अवसरको माग गरेका छन्। गर्मीमा कक्षाकोठा अत्यधिक तात्ने, जाडोमा चिसो हुने, फर्निचर अभाव र जीर्ण विद्यालय भवनजस्ता समस्या पनि उनीहरूले उठाएका छन्।

प्रदर्शनका क्रममा केही स्थानमा प्रहरी र विद्यार्थीबीच झडप हुँदा सयौँ घाइते भएका छन्। सोमबार लेन्समा भएको झडपमा १५ वर्षीय विद्यार्थी गम्भीर घाइते भएका थिए।

सरकारले शान्तिपूर्ण रूपमा माग राख्न आग्रह गरेको छ। शिक्षामन्त्री एडुअर्ड गेफ्रेले विद्यार्थी नेताहरूसँग छलफल गरे पनि सहमति हुन सकेको छैन। ट्रेड युनियनहरूले समेत आन्दोलनलाई समर्थन गरेका छन्।

विद्यार्थीहरूले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com