काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दुई उच्च तहका अधिकारीलाई बढुवा गरेको छ। बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी र सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन्।

मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो। उनी यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका रेग्मी सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध छन्। उनले प्रमुख वित्तीय अधिकृत, प्रमुख मानव संसाधन अधिकृत, प्रमुख कर्जा अधिकृत तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।

त्यस्तै, २२ वर्षभन्दा लामो बैंकिङ अनुभव भएका बुद्धि अकेला एसीईओमा बढुवा भएका छन्। उनी यसअघि नायब महाप्रबन्धक तथा प्रमुख जोखिम अधिकृतका रूपमा कार्यरत थिए। सन् २००४ मा नेपाल बैंकबाट बैंकिङ करिअर सुरु गरेका अकेला सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध छन्।

अकेलाले जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षणलगायतका क्षेत्रमा जिम्मेवारी सम्हालिसकेका छन्। रेग्मी ग्लोबल आइएमई क्यापिटल र अकेला ग्लोबल आइएमई लघुवित्तको सञ्चालक समिति अध्यक्षसमेत छन्।

रेग्मीले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन् भने अकेलाले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन्।

बैंकले दुवै अधिकारीको अनुभव र दक्षताबाट सेवा प्रवाह, जोखिम व्यवस्थापन तथा समग्र कार्यसम्पादन थप प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com