सिमरा । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या थप्दैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्।
सिमरामा आयोजित उच्चस्तरीय संवाद कार्यक्रममा उनले पुरानै विषय पढाउने र जथाभावी सम्बन्धन तथा विद्यार्थी संख्या बढाउने प्रवृत्ति अन्त्य गरी विशिष्टीकृत विश्वविद्यालय निर्माणमा जोड दिनुपर्ने बताए।
‘१५ वटा विश्वविद्यालय हुँदा पनि सबैले उही पुराना विषय पढाउने हो भने विश्वविद्यालय खुल्नुको अर्थ रहँदैन,’ उनले भने, ‘अब विशिष्टीकृत विश्वविद्यालय बनाउनेतर्फ ध्यान दिनुपर्छ।’
विदेशी विद्यार्थी आकर्षित गर्ने विशेष कार्यक्रम आवश्यक रहेको बताउँदै उनले मधेस प्रदेशमा माध्यमिक तहसम्मका कम्तीमा १०० वटा विद्यालयलाई विश्वस्तरीय बनाउने योजना अघि बढाइएको जानकारी दिए। भूगोल, जनसङ्ख्या र विद्यार्थी–शिक्षक अनुपातका आधारमा योजना कार्यान्वयन गरिने उनको भनाइ छ।
काठमाडौंमा बसेर मात्रै शिक्षा नीति बनाउन नहुने भन्दै मन्त्री पोखरेलले स्थानीय आवश्यकता, बजार, संस्कृति र सामाजिक अवस्थाअनुसार व्यावहारिक पाठ्यक्रम निर्माण गरिने बताए। नयाँ शिक्षा ऐन र पाठ्यक्रम प्रारूपमा स्थानीय सरोकारवालाका सुझाव समेटिने उनले बताए।
सिटिइभिटी र नर्सिङ शिक्षाका समस्या पनि नयाँ नेतृत्व र नयाँ ऐनमार्फत समाधान गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार












प्रतिक्रिया