काठमाडौं । लियोनल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेलमा गोल गर्दै भावुक बिदाइ लिएका छन्। आज बिहान सम्पन्न मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बेनिनलाई ३-० ले हराउँदा मेस्सीले एक गोल गर्नुका साथै दुई गोलमा असिस्ट गरे।

ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा भएको खेल मेस्सीका लागि अर्जेन्टिनाको जर्सीमा अन्तिम खेल थियो। ३९ वर्षीय मेस्सीले २१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रालाई जित र गोलसँगै टुंग्याएका छन्।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफ सुरु भएको केही समयमै अर्जेन्टिनाले अग्रता लियो। ४८औँ मिनेटमा मेस्सीको कर्नरमा निकोलास ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई १-० को अग्रता दिलाए।

त्यसपछि अर्जेन्टिनाले अग्रता दोब्बर बनायो। निको पाजले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए। दोस्रो गोलमा पनि मेस्सीको महत्वपूर्ण भूमिका रह्यो।

७१औँ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेललाई अविस्मरणीय बनाए। उनको प्रहारले जाली चुमेपछि मोनुमेन्टलमा उपस्थित ८५ हजारभन्दा बढी समर्थकले मेस्सीको नाममा नाराबाजी गर्दै खुसी मनाए।

यससँगै मेस्सीले अर्जेन्टिनाका लागि आफ्नो २०८औँ खेलमा १२६औँ अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन्। उनी अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा राष्ट्रिय टोलीबाट बिदा भएका छन्।

मेस्सीको अन्तिम खेललाई विशेष बनाउन मोनुमेन्टलमा खेलअघि नै विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। मैदानमा उनको १० नम्बरको विशाल जर्सी प्रदर्शन गरिएको थियो। खेलको १०औँ मिनेटमा रेफ्रीले खेल रोकेपछि दर्शकहरू उठेर मेस्सीलाई लामो समयसम्म ताली बजाउँदै सम्मान गरेका थिए।

राष्ट्रिय गानका क्रममा मेस्सी भावुक बनेका थिए। उनका छोराहरू पनि मैदानमा उपस्थित थिए। प्रशिक्षक लियोनेल स्कालोनीसमेत भावुक देखिएका थिए। बेनिनका कप्तानले पनि मेस्सीलाई विशेष स्मृतिचिह्न र पत्र हस्तान्तरण गर्दै सम्मान गरेका थिए।

मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले २०२१ र २०२४ कोपा अमेरिका तथा २०२२ को विश्वकप जितेको थियो। राष्ट्रिय टोलीसँगको उनको अन्तिम अध्याय भने जित, गोल र समर्थकको भव्य सम्मानसँगै टुंगिएको छ।

प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com