काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन्।
मंगलबार उम्मेदवारी दर्तापछि सभापति गगनकुमार थापासँग भएको भेटवार्तापछि रिजालले उम्मेदवारी फिर्ता लिएर थापा नेतृत्वलाई सहयोग गर्ने निर्णय गरेका हुन्।
भेटमा थापाले रिजालको राजनीतिक अनुभव, ज्ञान र बौद्धिक क्षमतालाई पार्टीको आगामी दिशा निर्माणमा उपयोग गर्न चाहेको बताएका थिए। पदाधिकारीको प्रतिस्पर्धामा नरही पार्टीभित्रै सहकार्य गर्न आग्रह गर्दै थापाले उनको साथ आवश्यक रहेको बताएका थिए।
थापाको प्रस्तावपछि रिजालले आफू पदका लागि नभई कांग्रेसलाई बलियो बनाउने उद्देश्यले उम्मेदवारी दिएको स्पष्ट पारेका छन्। उनले कांग्रेसको रूपान्तरणका लागि थापाको नेतृत्वलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
रिजालले केन्द्रीय समितिमा पद खोज्ने आफ्नो यात्रा समाप्त भएको घोषणा गर्दै निर्वाचन कार्यतालिकाअनुसार औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिने बताएका छन्। उनले आफ्नो ध्येय ‘कांग्रेसको आत्मा फर्काउने’ रहेको उल्लेख गरेका छन्।
खुला उपसभापतिका दुई पदका लागि रिजालसहित नौ जनाले उम्मेदवारी दर्ता गराएका थिए। रिजालको उम्मेदवारी फिर्ताको निर्णयले कांग्रेस महाधिवेशनको चुनावी समीकरणमा प्रभाव पार्ने देखिएको छ।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार












प्रतिक्रिया