काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको मञ्चमा पार्टी जीवनमा लामो समय योगदान गरेका नेताहरू उपस्थित नहुँदा आफूलाई नमिठो लागेको बताएका छन्।
महाधिवेशनअन्तर्गतको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले निवर्तमान सभापति शेरबहादुर देउवाले कांग्रेस निर्माणमा पुर्याएको योगदान र राजनीतिक संघर्षको स्मरण गरेका हुन्।
थापाले देउवासहित पार्टी निर्माणमा योगदान गरेका अन्य नेताहरूलाई सम्मानपूर्वक स्मरण गर्दै उनीहरू पनि महाधिवेशनको मञ्चमा हुनुपर्ने आफ्नो धारणा राखे।
‘विनम्रतापूर्वक आग्रह गर्छु, निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो जीवनकालमा नेपाली कांग्रेस पार्टीमा लामो समय योगदान गर्नुभएको छ, संघर्ष गर्नुभएको छ,’ थापाले भने, ‘पार्टी निर्माणमा यति ठूलो योगदान गर्नुभएको छ, पार्टीका अरू नेताहरूको पनि योगदान छ।’
उनले पार्टीका अग्रज नेताहरू महाधिवेशनको मञ्चमा उपस्थित नभएको अवस्थाप्रति असन्तुष्टि जनाउँदै भने, ‘त्यसकारण हामीलाई मिठो लागिरहेको छैन। आज यो मञ्चमा हाम्रा दाइहरू पनि हुनुपर्थ्यो भन्ने हामीलाई लाग्छ।’
सभापति थापाले कांग्रेसको इतिहास र पार्टी निर्माणमा योगदान गरेका अग्रज नेताहरूको भूमिकालाई सम्मान गर्दै नयाँ नेतृत्वले पार्टीलाई अघि बढाउनुपर्ने सन्देशसमेत दिएका छन्।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार












प्रतिक्रिया