काठमाडौं । भारतीय अभिनेता तथा निर्देशक नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।
पाटेकरको बिहीबार बिहान गोवास्थित निवासमा हृदयाघातका कारण निधन भएको हो। अस्वस्थ भएपछि उनलाई मणिपाल अस्पताल लगिएको थियो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म उपचार तथा सीपीआर प्रयास गरे पनि उनलाई बचाउन नसकिएको जनाइएको छ। अस्पतालले बिहान करिब ५ बजेर २० मिनेटमा उनको मृत्यु भएको पुष्टि गरेको थियो।
पाटेकरलाई महाराष्ट्र सरकारको तर्फबाट पूर्ण राजकीय सम्मानका साथ अन्तिम बिदाइ गरिने भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनको अन्तिम संस्कार गोवामै गरिने तयारी छ।
सन् १९७८ मा ‘गमन’बाट अभिनय यात्रा सुरु गरेका पाटेकरले हिन्दी र मराठी चलचित्रमा करिब पाँच दशक लामो योगदान दिएका थिए। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘तिरंगा’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अपहरण’, ‘राजनीति’ र ‘वेलकम’ उनका चर्चित चलचित्र हुन्।
सशक्त संवाद प्रस्तुति र विविध चरित्रमा प्रभावशाली अभिनयका लागि चर्चित पाटेकरले अभिनयसँगै निर्देशन र लेखनमा पनि काम गरेका थिए। उनले ‘प्रहार : द फाइनल अट्याक’मार्फत निर्देशनमा डेब्यु गरेका थिए।
उनले तीनवटा राष्ट्रिय चलचित्र पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेका थिए। भारत सरकारले उनलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मानित गरेको थियो।
पाटेकर चलचित्र क्षेत्रबाहेक सामाजिक काममा पनि सक्रिय थिए। विशेषगरी किसानका समस्याबारे उनले सार्वजनिक रूपमा आवाज उठाउँदै आएका थिए।
प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया