काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले दोस्रो कार्यकाल सुरु गरेयता आठवटा द्वन्द्व समाधान गरेको दाबी गर्दै सन् २०२६ को नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने बताएका छन्।
बुधबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नोबेल शान्ति पुरस्कारको घोषणा शुक्रबार हुने उल्लेख गर्दै आफूले पुरस्कार पाए पनि नपाए पनि शान्तिका लागि अरूभन्दा बढी काम गरेको दाबी गरे।
ट्रम्पले आफूले ‘अरू कसैले गर्न नसकेको काम’ गरेको दाबी गर्दै आठवटा युद्ध समाधान गरेको बताए। नोबेल समितिले आफूजस्ता व्यक्तिलाई पुरस्कार नदिने प्रतिष्ठा बनाएको टिप्पणी गर्दै उनले पुरस्कार नपाए पनि आफ्नो शान्ति प्रयासको महत्त्व कम नहुने बताए।
उनले सन् २००९ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई नोबेल शान्ति पुरस्कार दिइएको विषयमा समेत प्रश्न उठाए। गत वर्ष नोबेल शान्ति पुरस्कार पाएकी भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोसँगको भेटको प्रसंग पनि उनले उल्लेख गरे।
ट्रम्प प्रशासनले आर्थिक दबाब, व्यापारिक रणनीति र महसुल नीतिमार्फत विभिन्न देशलाई वार्ताको टेबलमा ल्याएको दाबी गर्दै आएको छ।
तर कङ्गो र कम्बोडिया–थाइल्यान्ड सीमामा पुनः द्वन्द्व देखिनु, युक्रेनमा स्थायी शान्ति कायम हुन नसक्नु तथा इरानसँग सम्बन्धित मध्यपूर्वको तनावका कारण ट्रम्पको दाबीमाथि प्रश्न उठाइएको छ।
नोबेल शान्ति पुरस्कार नर्वेको ओस्लोस्थित नर्वेजियन नोबेल समितिले प्रदान गर्छ। सन् २०२६ को पुरस्कारका लागि पोप लियो, अन्तर्राष्ट्रिय फौजदारी अदालत र प्यालेस्टिनी क्षेत्रसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदकलगायतका नाम चर्चामा छन्।
प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया