काठमाडौं । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनका लागि आन्तरिक तयारीमा जुटिरहेको बताएका छन्।

उनले आयोग नियमित रूपमा निर्वाचनको तयारीमा रहने उल्लेख गर्दै सरकारले घोषणा गरेको मितिमा निष्पक्ष, स्वतन्त्र र विवादरहित ढङ्गले निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको भएको बताए।

‘हामी आगामी निर्वाचनको तयारीमै छौँ। त्यसो त आयोग सदैव निर्वाचनको तयारीमा रहन्छ नै,’ कार्कीले भने, ‘निर्वाचनको मिति सरकारले तोक्ने हो। सरकारले तोकेको मितिमा निष्पक्ष एवं विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो। त्यसमा हामी प्रतिबद्ध छौँ।’

स्थानीय तहको आगामी निर्वाचन फागुनमै गर्ने गरी सरकार अघि बढेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला प्रमुख निर्वाचन आयुक्त कार्कीले भने अहिले नै निर्वाचनको मिति तोक्ने वा त्यसबारे आयोगले धारणा सार्वजनिक गर्ने अवस्था नरहेको स्पष्ट पारे।

उनका अनुसार संविधानअनुसार निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नेछ।

‘मितिका बारेमा अहिले नै आयोगले भन्ने कुरा भएन। संवैधानिक प्रावधानअनुरूप आयोगसमेतको परामर्शमा सरकारले मिति घोषणा गर्ने हो,’ उनले भने।

कार्कीले स्थानीय तहलाई लामो समयसम्म जनप्रतिनिधिविहीन अवस्थामा राख्न नहुने धारणा राखे। त्यसैलाई ध्यानमा राखेर आयोगले निर्वाचनसम्बन्धी आवश्यक तयारी अघि बढाइरहेको उनले बताए।

‘लामो समयसम्म स्थानीय निकाय खाली राख्नु हुँदैन भन्ने पक्षमा छौँ। त्यसैअनुसार हाम्रो तयारी पनि भइरहेको छ,’ उनले भने।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा समाप्त हुने भएकाले त्यसको आसपासमा संवैधानिक व्यवस्थाअनुसार निर्वाचन हुने कार्कीले बताए।

स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्ने गरी आयोगले तयारी थालेको हो कि भन्ने प्रश्नमा भने उनले अहिले नै त्यसबारे निष्कर्षमा पुग्न नसकिने बताए।

‘हाम्रो संवैधानिक संरचना र कानुनी प्रावधानअनुरूप नै निर्वाचन हुने हो। त्यसमा हाम्रो आवश्यकताको पनि कुरा छ,’ उनले भने, ‘त्यसैले अहिले नै चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैन। सरकारले मिति घोषणा गरेअनुसार नै हामीले काम गर्ने हो।’

आयोगले निर्वाचनको मिति घोषणा भएपछि आवश्यक निर्वाचन कार्यक्रम, व्यवस्थापन तथा प्राविधिक तयारीलाई अघि बढाउने जनाएको छ।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com