काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गर्दै अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुपर्ने बताएका छन्।
जनकपुरमा आयोजित कार्यक्रममा निधिले विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र संगठनात्मक रूपमा दुई धारमा विभाजन गरेको बताए। उनका अनुसार अब नयाँ ढङ्गले संगठन निर्माण गर्नुको विकल्प छैन।
विशेष महाधिवेशन बोलाउने पक्ष नै पार्टी विभाजनको मुख्य जिम्मेवार रहेको आरोप लगाउँदै निधिले लोकतन्त्र बहुमतको निर्णय मात्र नभई प्रक्रिया र पद्धति पनि भएको बताए। निर्वाचन आयोगमा पेस गरिएको तथ्याङ्कअनुसार आफूहरूसँग ४६ प्रतिशत आधार रहेको दाबी गर्दै उनले उक्त पक्षलाई बेवास्ता गरेर गरिएका निर्णय मान्य नहुने जिकिर गरे।
‘विशेष महाधिवेशन बोलाउनेले नै पार्टी फुटाएको हो,’ निधिले भने, ‘हामीले सुरुदेखि नै प्रक्रियाको कुरा उठाउँदा बेवास्ता गरियो। अहिले आफ्नो घरलाई मजबुत बनाउने र संगठन निर्माण गर्ने नै हाम्रो प्राथमिकता हो।’
उनले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई वडा तहदेखि सक्रिय हुन निर्देशन दिए। युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिँदै निधिले आफू वैचारिक रूपमा सक्रिय रहेको र पार्टी पुनर्निर्माणमा प्रतिबद्ध रहेको बताए।
पञ्चायतकालको उदाहरण दिँदै उनले संगठन बलियो भए जुनसुकै चुनौती पार गर्न सकिने भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरे।
प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया