काठमाडौं । सुरक्षा संवेदनशील सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई बर्खास्त गर्न छानबिन समितिले सिफारिस गरेको छ।
गृह मन्त्रालयले गठन गरेको तीन सदस्यीय छानबिन समितिले बिहीबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाउँदै दाहाललाई सेवाबाट हटाउन सिफारिस गरेको हो। प्रतिवेदनका आधारमा मन्त्रालयले बर्खास्तीको निर्णय गर्ने तयारी गरेको गृह स्रोतले जनाएको छ।
सशस्त्र प्रहरीको नियम र आचरणविपरीत गोप्य सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी मुख्यालयले कारबाही सिफारिस गरेपछि गृह मन्त्रालयले गत असोज १९ गते दाहाललाई निलम्बन गरेको थियो। घटनाको छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन मन्त्रालयले जाँचबुझ अधिकृत तोकेको थियो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सुरक्षासम्बन्धी संवेदनशील सूचनाको गोपनीयता कायम राख्नु प्रत्येक प्रहरी कर्मचारीको दायित्व भएको बताएका छन्। पदीय आचरणविपरीत काम गर्ने र शान्ति सुरक्षामा असर पार्ने गतिविधिमा संलग्न हुनेलाई कानुनअनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ।
दाहालको चारवर्षे पदावधि आगामी असोज २८ गते सकिँदै छ। पदावधि थप हुन सक्ने चर्चा भइरहेका बेला उनीमाथि सूचना चुहावटको आरोपमा बर्खास्तीको सिफारिस भएको हो।
प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया