काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको रकम अपचलन गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विवादित व्यवसायी दीपक भट्टसहित २० जनाविरुद्ध मुद्दा दायर भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रिइन्स्योरेन्सले हुँदै नभएको पुनर्बिमा कारोबार देखाएर एलियट इन्स्योरेन्स ब्रोकर प्रालिलाई कमिसनबापत रकम भुक्तानी गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।
विभागको अनुसन्धानअनुसार हिमालयन रिइन्स्योरेन्सले विभिन्न बिमा कम्पनीको पुनर्बिमा गराएको भन्दै एलियट इन्स्योरेन्स ब्रोकरलाई पटकपटक गरी २८ करोड रुपैयाँ भुक्तानी गरेको थियो। तर, सम्बन्धित बिमा कम्पनीहरूले एलियटमार्फत पुनर्बिमा नगराएको बताएका छन्।
अभियोगपत्रमा उल्लेख भएअनुसार हिमालयन रिइन्स्योरेन्सले विभिन्न बिमा कम्पनीबाट पुनर्बिमा व्यवसाय प्राप्त गरेको देखाउँदै एलियटलाई कमिसन भुक्तानी गरेको थियो। अनुसन्धानका क्रममा भने ती कारोबार वास्तविक नभएको र कमिसनका नाममा भुक्तानी गरिएको रकम दीपक भट्टको लाभका लागि प्रयोग भएको विभागको दाबी छ।
हिमालयन रिइन्स्योरेन्सले एसियन लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्ससहित २० वटा बिमा कम्पनीको पुनर्बिमा गराएको भन्दै एलियटलाई २३ करोड ९२ लाख रुपैयाँ कमिसन दिएको अभियोगपत्रमा उल्लेख छ।
तर, सम्बन्धित बिमा कम्पनीहरूले एलियट इन्स्योरेन्स ब्रोकरमार्फत पुनर्बिमा नगराएको बताएका छन्। यसरी वास्तविक कारोबारबिना कमिसन भुक्तानी गरेर हिमालयन रिइन्स्योरेन्सको हिसाब मिलान गरिएको विभागको आरोप छ।
विभागका अनुसार एलियट इन्स्योरेन्स ब्रोकर कम्पनी दीपक भट्टले आफ्नी सासू अञ्जना नेपालको नाममा स्थापना गरेको देखिएको छ। भट्टले उक्त कम्पनीमार्फत रकम भुक्तानी गराई आफूलाई लाभ पुर्याएको अभियोगपत्रमा उल्लेख छ। अञ्जना नेपाललाई पनि विभागले प्रतिवादी बनाएको छ।
काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दामा भट्ट र अञ्जना नेपालसहित हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, स्वतन्त्र सञ्चालक सुभाषकुमार झुनझुनवाला तथा साधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने शुभेच्छा खरेललगायतलाई प्रतिवादी बनाइएको छ। मुद्दामा प्रतिवादी बनाइएका व्यक्तिहरूमाथि अभियोगपत्रमा उल्लेखित आरोपबारे अदालतबाट न्यायिक निरूपण हुन बाँकी छ।
यसअघि पनि हिमालयन रिइन्स्योरेन्सका पदाधिकारीको मिलेमतोमा दीपक भट्टसँग सम्बन्धित ब्रोकर कम्पनीमार्फत सेयर कारोबार भएको विषय सार्वजनिक भएको थियो।
भट्ट, व्यवसायी सुलभ अग्रवाल तथा हिमालयन रिइन्स्योरेन्सका तत्कालीन सञ्चालकहरूमाथि यसअघि नै सम्पत्ति शुद्धीकरण र धितोपत्रसम्बन्धी कसुरमा मुद्दा दायर भइसकेको छ। भट्टविरुद्ध गैरकानुनी रूपमा २६ अर्ब रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत विचाराधीन छ।
उक्त मुद्दामा भट्ट र अग्रवाल पुर्पक्षका लागि थुनामा छन्।
भट्टसँग सम्बन्धित मुद्दालाई प्रभावित पार्ने गतिविधिमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पनि संलग्न रहेको आशंकापछि उनीमाथि समेत सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको छ।
हिमालयन रिइन्स्योरेन्स प्रकरणमा दायर पछिल्लो मुद्दाले पुनर्बिमा कारोबार, कमिसन भुक्तानी र कम्पनीको रकमको प्रयोगसम्बन्धी विषयलाई थप न्यायिक परीक्षणको दायरामा ल्याएको छ।
प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया