काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बाँके निर्वाचन क्षेत्र नम्बर ३ का विभिन्न योजनामा कमिसन लिएको तथा दलित अभियानका नाममा संकलित करोडौँ रुपैयाँको चलखेल गरी हुण्डीमार्फत रकम ओसारपसार गरेको आरोप लगाउँदै उजुरीमा छानबिन र कारबाहीको माग गरिएको हो।

सि–०२०५७२ दर्ता नम्बर रहेको उक्त उजुरीमा सांसद सुनारमाथि लगाइएका आरोपको निष्पक्ष छानबिन गर्न माग गरिएको छ। यद्यपि, उजुरीमा उल्लेखित आरोप पुष्टि भइसकेका छैनन्।

सुनारमाथि छानबिन र कारबाहीको माग पार्टीभित्रैबाट समेत उठेको छ। रास्वपाको केन्द्रीय विधायन मन्थन विभागका सदस्य विक्रम ओलीले सांसद सुनारलाई कारबाही गर्न माग गर्दै संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन शाहलाई पत्र पठाएका छन्। बाँके क्षेत्र नम्बर ३ का स्थानीयसमेत रहेका ओलीले ‘राइट टु रिकल’ को प्रयोग गर्दै सुनारलाई तत्काल निलम्बन गर्न र निष्पक्ष छानबिनपछि आवश्यक कारबाही गर्न माग गरेका हुन्।

ओलीले प्रधानमन्त्रीलाई पठाएको पत्रमा सुनारको निर्वाचनअघिको जीवनशैली र सांसद बनेपछिको जीवनशैलीबीच उल्लेख्य अन्तर देखिएको भन्दै त्यसको स्रोत सार्वजनिक गर्न माग गरेका छन्।

‘निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न पहल नगरेको, निर्वाचनअघिको उहाँको जीवनशैली, लवाइखवाइ र अहिलेको जीवनशैलीमा आकाश–पातालको फरक देखिन्छ,’ पत्रमा भनिएको छ, ‘यसमा परिवर्तन आउनुको स्रोत के हो ? यसको स्पष्ट जवाफ जनताले पाउनुपर्छ।’

 

निर्वाचन जितेपछि सुनार आफ्नो निर्वाचन क्षेत्रमा नफर्किएको र यसले मतदातामा असन्तुष्टि बढाएको दाबीसमेत पत्रमा गरिएको छ। जनतासँग गरेका प्रतिबद्धता कार्यान्वयनमा चासो नदेखाएको भन्दै ओलीले सांसदको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

सुनारका पछिल्ला सार्वजनिक अभिव्यक्ति र गतिविधिले मतदाताको प्रतिष्ठामा समेत असर परेको ओलीको दाबी छ। उनले पार्टीको विधिविधानविपरीत काम गरेको, सामाजिक सद्भाव र शान्तिमा असर पुग्ने अभिव्यक्ति दिएको तथा सामाजिक सञ्जालमा अराजकता फैलाउने गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्।

त्यस्तै, राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउने खालका अभिव्यक्ति दिएको, जनप्रतिनिधिको मर्यादा कायम नगरेको र राजदूत नियुक्तिसम्बन्धी विषयमा कमिसन लिएको आरोपसमेत पत्रमा उल्लेख गरिएको छ। यी आरोपमाथि सम्बन्धित निकायबाट छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग ओलीको छ।

‘यस्ता विवाद र गम्भीर आरोपले बाँके निर्वाचन क्षेत्र नम्बर ३ का जनताको प्रतिष्ठामा आँच पुगेको अनुभूति भएको छ,’ पत्रमा उल्लेख छ, ‘जनताको अपेक्षाअनुसार काम हुन नसकेमा आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई समेत गम्भीर राजनीतिक क्षति पुग्न सक्ने हाम्रो चिन्ता छ।’

ओलीले सांसद सुनारमाथि लागेका आरोपको निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न रास्वपा नेतृत्वसँग माग गरेका छन्। अख्तियारमा परेको उजुरी र पार्टीभित्रैबाट उठेको कारबाहीको मागले सुनारमाथि लागेका आरोपको निष्पक्ष छानबिन तथा उनको जवाफ सार्वजनिक गर्नुपर्ने विषयलाई थप चर्चामा ल्याएको छ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com