काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संगठनात्मक निर्णय गर्दा हतार नगर्न र नयाँ तथा पुराना नेताबीच सन्तुलन कायम गर्न सुझाव दिएका छन्।
केन्द्रीय कमिटीमा सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा स्पष्ट मापदण्ड अपनाउनुपर्नेमा जोड दिँदै भट्टराईले ४० वर्षमुनिका युवालाई केन्द्रीय सदस्यमा प्राथमिकता दिन आग्रह गरेका छन्। विगतमा छुटेका भूगोल र समुदायलाई समेत समेटेर मनोनयन गर्नुपर्ने उनको सुझाव छ।
भट्टराईले पार्टीको स्थायी कमिटी बैठकमा आफू जरुरी कामका कारण उपस्थित हुन नसकेको र यसबारे पहिले नै जानकारी गराएको पनि स्पष्ट पारेका छन्।
उनले मुलुकको राजनीतिक परिस्थिति गम्भीर र पेचिलो बन्दै गएको उल्लेख गर्दै लोकतन्त्र र संविधानको रक्षा राष्ट्रिय महत्त्वको विषय बनेको बताएका छन्। यस्तो अवस्थामा प्रमुख राजनीतिक दलहरूले आफूलाई रूपान्तरण गर्दै बलियो एकता कायम गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
‘मुलुकको राजनीतिक परिस्थिति गम्भीर र पेचिलो बन्दै गइरहेको छ। लोकतन्त्र र संविधानको रक्षा राष्ट्रिय प्रश्न बनिरहेको छ। यस्तो बेलामा प्रमुख राजनीतिक दलहरूले आफूलाई रूपान्तरणसहित बलियो एकता निर्माण गरी उपर्युक्त कार्यभार पूरा गर्न अग्रसरता लिनुपर्दछ,’ उनले भनेका छन्।
एमाले केन्द्रीय कमिटीको असोजको पहिलो साता सम्पन्न बैठकमा पनि पार्टी रूपान्तरण, युवा सहभागिता र संगठनात्मक सन्तुलनका विषयमा आफूहरूले पर्याप्त छलफल गरेको भट्टराईले स्मरण गराएका छन्।
पार्टीको जारी स्थायी कमिटी बैठकले राष्ट्रिय भेला आयोजना गर्ने तथा वडा र पालिका तहका अधिवेशन गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले संगठनात्मक प्रक्रियामार्फत पार्टीलाई गतिशील बनाउने अपेक्षा व्यक्त गरेका छन्। आन्तरिक तथा राष्ट्रिय महत्त्वका विषयमा छलफल गरेर सकारात्मक निष्कर्षमा पुग्नुपर्ने उनको धारणा छ।
तर, केन्द्रीय सदस्य मनोनयनमा ४० वर्षमुनिका युवालाई प्राथमिकता दिने र स्थायी कमिटी तथा पोलिटब्युरो गठन गर्दा नयाँ र पुराना नेताबीच सन्तुलन कायम गर्ने विषयमा आफूले दिएको सुझावअनुसार निर्णय हुन नसकेको भट्टराईको भनाइ छ। यसले पार्टीभित्र सकारात्मक ऊर्जा सिर्जना गर्न नसकेको उनले उल्लेख गरेका छन्।
उनले आसन्न निर्वाचनलगायत चुनौतीको सामना गर्न पार्टीभित्रको एकता अपरिहार्य रहेको बताएका छन्। नेतृत्व चयन र जिम्मेवारी बाँडफाँटमा सहमति कायम हुन नसके सम्बन्धित विषयलाई केन्द्रीय कमिटीको आगामी बैठकबाट टुंग्याउनु उपयुक्त हुने उनको सुझाव छ।
‘पार्टी एकतालाई खण्डित गर्ने कुनै पनि निर्णय हतारमा निर्णय र फुर्सदमा पछुताउनु सरह हुनेछ,’ भट्टराईले भनेका छन्।
एमालेमा केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटीमा सदस्य थप, पोलिटब्युरो गठन, ज्येष्ठ कम्युनिस्ट मञ्च तथा विभिन्न विभागका जिम्मेवारी बाँडफाँटलाई लिएर असन्तुष्टि देखिएको छ। अध्यक्ष ओलीले तयार पारेको सूची बैठकमा प्रस्तुत भएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको हो।
यी विषयमा निर्णय गर्न एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ।
प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार












प्रतिक्रिया