काठमाडौं । नेकपा एमालेले आगामी मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न स्थायी कमिटी बैठकले राष्ट्रिय भेलासहित वडा तथा पालिका तहका अधिवेशनको मिति तय गरेको हो।

बैठकको निर्णयअनुसार एमालेले मङ्सिर २६ गते वडा कमिटी र पुस ४ गते नगर तथा गाउँपालिका कमिटीका अधिवेशन सम्पन्न गर्नेछ। वडा र पालिका अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ।

पार्टीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधि सहभागी हुनेछन्।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ गतेदेखि तीन दिनसम्म चलेको स्थायी कमिटी बैठकले संगठनात्मक संरचना र पार्टीका विभिन्न जिम्मेवारीसम्बन्धी निर्णय गरेको हो। बैठकको सुरुवातमा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।

१३ जिल्लामा अध्यक्ष चयनको प्रक्रिया अघि बढाइने

एमालेले जिल्ला अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा सम्बन्धित जिल्ला तहबाटै अध्यक्ष चयन गर्ने निर्णय गरेको छ। जिल्ला तहको निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा रूपान्तरण गर्ने र त्यसलाई माथिल्लो कमिटीबाट अनुमोदन गराउने प्रक्रिया अघि बढाइनेछ।

१० जनालाई केन्द्रीय सदस्यमा मनोनयन

स्थायी कमिटी बैठकले विभिन्न जिल्लाका १० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

मनोनयन हुनेमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पङ्गेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथ प्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) रहेका छन्।

मधेस प्रदेशसभा सदस्यको रिक्त स्थानमा नाजिमा खातुन

बैठकले मधेस प्रदेशसभामा एमालेकी समानुपातिक सांसद जैनब खातुनको निधनपछि रिक्त रहेको स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय पनि गरेको छ।

एमालेले यी निर्णयमार्फत पार्टीका विभिन्न तहका अधिवेशन, संगठनात्मक संरचना र नेतृत्व व्यवस्थापनसम्बन्धी प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com