काठमाडौं । विपद् तथा मानवीय संकटमा परेका नागरिकलाई राहत र सहयोग उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटीमा नेतृत्व, राजनीतिक आबद्धता र संस्थागत पुनर्संरचनाको विषयलाई लिएर विवाद चुलिएको छ। संस्थाको नेतृत्व र व्यवस्थापनसँग सम्बन्धित विषय अदालतसम्म पुगेपछि रेडक्रसभित्रको आन्तरिक विवाद फेरि चर्चामा आएको हो।
रेडक्रसका पूर्वकर्मचारी जगदीश भट्टराईको नाम पछिल्लो विवादमा जोडिएको छ। वर्तमान तदर्थ समितिका केन्द्रीय अध्यक्ष डा. विशालकुमार भण्डारीसँग उनको असमझदारी रहेको र सर्वोच्च अदालतमा दायर रिट निवेदनमा उनको भूमिका रहेको दाबी सामग्रीमा गरिएको छ।
रेडक्रसका वर्तमान तदर्थ समितिका केन्द्रीय अध्यक्ष डा. विशालकुमार भण्डारीसँग व्यक्तिगत कुण्ठा साँधिरहेका भट्टराई पछिल्लो समय संस्थाविरुद्ध अदालतदेखि सडकसम्म मुद्दाको खेती गर्न सक्रिय रहेका छन्। सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदन (नं. ०८३–WO–०३९८) का मुख्य ‘इन्भेस्टर’ वा ‘लगानीकर्ता’ नै भट्टराई रहेको चर्चाले रेडक्रसभित्रको राजनीतिक भागबन्डा र पदलोभको नाङ्गो रूप फेरि एकपटक उदाङ्गो पारेको छ।
विधानको पाठ पढाउने, आफैँ नियम उलंघन गर्ने दोहोरो चरित्र!
भट्टराईले अदालतमा हालेको रिटमार्फत रेडक्रसको विधानको हवाला दिँदै समितिमा बस्नेहरू कुनै पनि राजनीतिक दलको सदस्य हुन नहुने पवित्र सिद्धान्तको कुरा उठाएका छन्। उनी यसै तर्कको आडमा अध्यक्ष डा. भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य रहेको झुटा र निराधार आरोप लगाउन तल्लीन छन्, जसको कुनै आधिकारिक पुष्टि नै छैन।
तर अचम्मको कुरा त के भने, अरूलाई राजनीतिको पाठ पढाउने तिनै भट्टराई स्वयं तेह्रथुम एमाले जिल्ला कमिटीका गर्विला सदस्य तथा तेह्रथुम रेडक्रस शाखाका कार्यसमिति सदस्य हुन्! ऐन, नियम र विधानका ठूला–ठूला कुरा गर्नेहरू आफ्ना कर्तूत ढाक्न कतिसम्म निष्फिक्री हुँदारहेछन् भन्ने गतिलो उदाहरण यही हो— ‘मुखमा रामराम, बगलीमा छुरा!’
अवसरवादी चोला र ‘भोजभतेर’को राजनीति
इतिहास पल्टाएर हेर्ने हो भने, भट्टराईको अवसरवादी चरित्र नौलो होइन। विसं २०७२ को विनाशकारी भूकम्पका बेला सिंगो देश शोकमग्न हुँदा उनी भने जसरी हुन्छ तदर्थ समितिमा छिरिहाल्ने दाउमा थिए। एमाले, कांग्रेसदेखि माओवादीसम्मका ढोका ढकढकाउँदै हिँडेका उनी स्वार्थ पूरा हुने भएपछि जुनसुकै हदसम्म गिर्न सक्ने पात्रका रूपमा चिनिन्छन्। कुपण्डोलस्थित आफ्नै ‘नाइस क्याफे’मा नेताहरूलाई भोजभतेर खुवाएर समितिमा छिर्ने उनको कूटनीतिक चाल असफल भएपछि, उनी भूकम्पका बेला कारबाहीमा परेका भ्रष्ट पदाधिकारीहरूसँग हात मिलाएर नयाँ समितिलाई फेल गराउन निहुँ खोज्दै हिँडेका थिए।
त्यति मात्र कहाँ हो र? राजनीतिक भागबन्डाको कुरा गर्नेहरूले नै तत्कालीन सरकारको पालामा ३३ सदस्यीय समिति हुनुपर्ने ठाउँमा ५६ सदस्यीय जम्बो कमिटी बनाउँदा एमालेको लगौटी समाउँदै भट्टराई आफैँ पछाडिको ढोकाबाट समितिमा प्रवेश गरेका थिए र आफ्नो लगानी उठाउन भ्याएका थिए।
विगतका कलंकित अध्याय: जापान काण्डदेखि यौन दुर्व्यवहारसम्म
मानवीय सेवाको खोल ओढेर हिँड्ने भट्टराईको विगत कतिसम्म दागदार छ भन्ने बुझ्न उनका पुराना हर्कतहरू काफी छन्। जापानमा ‘फरार’ नाटक: जापानमा युवा विनिमय कार्यक्रममा गएका बेला उनी निर्धारित मितिभन्दा बढी समय उतै लुकेर बसे। जापानी रेडक्रसले नै खोजीनीति गरेर नेपाल फिर्ता पठाइएपछि त्यसको प्रत्यक्ष असर नेपाल रेडक्रसले पाउने अन्तर्राष्ट्रिय सहयोगमा परेको थियो। त्यति मात्र होइन, जापानी रेडक्रसले कालोसूचीमा राखेको व्यक्तिलाई थापा समूहले रेडक्रस समितिमा मनोनीत गरी टीका लगाएका भट्टराईको चौतर्फी विरोध भएपछि उनले लज्जास्पद ढंगले राजीनामा दिनुपरेको थियो।
रुकुम काण्ड: सन् १९९७ मा रुकुमको पूर्तिमकाँडामा सामुदायिक विकास परियोजनामा सुब्बासरहको पदमा कार्यरत रहँदा एक स्थानीय महिलामाथि यौनजन्य दुर्व्यवहार गरेको गम्भीर आरोप उनलाई लागेको थियो। जनताको आक्रोश र कुटाइबाट बच्न उनी मध्यरातमा ज्यान बचाएर काठमाडौँ भाग्न बाध्य भएका थिए।
महामन्त्री बन्ने सपना, रेडक्रसको बर्बादी र नेतृत्वको प्रतिक्रिया
अहिले तिनै दाग लागेका पात्र फेरि जसरी पनि नेपाल रेडक्रस सोसाइटीको ‘महामन्त्री’ पड्काउने दाउमा छन्। त्यसका लागि कहिले मुद्दाको पोको बोकेर अदालत धाउने, कहिले चियापान र भोजभतेरको नाटक मञ्चन गर्ने उनको रणनीतिले रेडक्रसलाई गम्भीर मोडमा पुर्याएको छ। उनको यो सत्तामोह र खिचातानीका कारण अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (IFRC) ले समेत नेपाल रेडक्रसलाई निलम्बन गर्ने तयारी गरिरहेको छ।
यस विषयमा संस्थाका अध्यक्ष डा. विशालकुमार भण्डारीसँग बुझ्दा उहाँले भन्नुभयो— ‘कागहरू कराउँदै गर्छन्, तर सुक्ने कुरा सुकिरहन्छ। रेडक्रसको रूपान्तरण हुन अति जरूरी छ। शून्य सहनशीलता मा कामको गति अगाडि बढाउँदै चाँडै संस्थाको पुनर्संरचना तथा हस्तान्तरण गर्न हामी अगाडि बढेका छौँ।’
यता, लगाइएका आरोप र समग्र विषयमा प्रतिक्रिया लिन यस समाचारदाताले जगदीश भट्टराईसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच अफ रहेको पाइयो।
नेपाल रेडक्रस कुनै व्यक्ति विशेषको महत्त्वाकाङ्क्षा पूरा गर्ने प्राइभेट कम्पनी वा राजनीतिक दलको भ्रातृ संस्था होइन। संकटमा परेका नागरिकको जीवन रक्षा गर्ने यो पवित्र संस्थालाई केही स्वार्थीहरूको क्रीडास्थल बन्न दिनबाट रोक्न अब ढिला गर्नु हुँदैन। व्यक्तिगत कुण्ठा, मुद्दाको राजनीति र पदलोभलाई तिरस्कार गर्दै रेडक्रसलाई यसको निष्पक्ष, तटस्थ र मानवीय मूल्यमा फर्काउन सम्बन्धित सबै पक्ष समयमै गम्भीर बन्नैपर्छ।
प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार












प्रतिक्रिया