काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी राजनीतिबाट कहिले अलग हुने भन्ने सञ्चारकर्मीको प्रश्नमा आक्रोशित भएका छन्। आफूलाई पार्टीबाट कहिले पाखा लाग्ने भनेर जनताले सोधिरहेको भन्दै गरिएको प्रश्नप्रति उनले आपत्ति जनाएका हुन्।
शनिबार पार्टी बैठकमा सहभागी हुन पुगेका ओलीलाई सञ्चारकर्मीले नेपाली कांग्रेसको महाधिवेशन र सभापति शेरबहादुर देउवाको प्रसङ्ग जोड्दै एमालेको नेतृत्वबाट कहिले हट्ने भन्ने प्रश्न गरेका थिए।
‘कांग्रेसको महाधिवेशन भयो, लगभग शेरबहादुर देउवा पाखा लाग्नुभयो। तपाईं चाहिँ कहिले पाखा लाग्ने भनेर जनताले सोधिराखेका छन् नि ?’ सञ्चारकर्मीको प्रश्न थियो।
प्रश्न पूरा हुन नपाउँदै ओलीले प्रतिप्रश्न गरे, ‘कुन जनताले सोध्यो ?’
सञ्चारकर्मीले ‘धेरै जनताले भनिरहेका छन्’ भन्दै पुनः प्रश्न दोहोर्याएपछि ओली झन् रुष्ट बने। उनले झर्किंदै भने, ‘नचाहिने कुरा गर्न कसले सिकायो ? तपाईंलाई तपाईंको मालिकले निकालिदेला।’
त्यसपछि अर्का सञ्चारकर्मीले एमालेमा ओलीको विकल्प नरहेको हो भन्ने आशयको प्रश्न गरे। उक्त प्रश्नमा पनि ओलीले असन्तुष्टि जनाए।
‘अझै नचाहिने कुरा गर्न कसले सिकायो ?’ उनले भने। सञ्चारकर्मीले ‘यो त जनताको प्रश्न हो नि’ भन्दै आफ्नो कुरा राख्न खोजे पनि ओलीले प्रतिक्रिया नदिई गाडीतर्फ अघि बढे।
यसै क्रममा सञ्चारकर्मीले एमाले महासचिव शङ्कर पोखरेलसँगको सम्बन्धबारे पनि ओलीलाई प्रश्न गरेका थिए।
स्थायी कमिटी बैठकपछि पोखरेलसँग ओलीको मनमुटाव बढेको र महासचिवले अध्यक्षको फोनसमेत उठाउन छाडेको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा ओलीले त्यसलाई अस्वीकार गरे।
‘त्यसमा कुनै सत्यता छैन, बिल्कुल छैन,’ ओलीले सङ्क्षिप्त प्रतिक्रिया दिए।
प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार












प्रतिक्रिया