काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले नदी आसपास निर्माणाधीन चारवटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। बाढीका कारण आयोजनाका क्याम्प क्षेत्र, बेलिब्रिज, पहुँच सडक, निर्माण सामग्री तथा उपकरणमा क्षति पुगेको हो।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बाढीबाट ३४१ मेगावाटको बूढीगण्डकी, २४.५ मेगावाटको दोभान खोला, ३०.५९ मेगावाटको यारु खोला र १६ मेगावाटको माछाखोला जलविद्युत् आयोजना प्रभावित भएका छन्।
विवरणअनुसार टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाका केही निर्माण उपकरणसमेत बगेका छन्।
त्यस्तै, २४.५ मेगावाटको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा रहेका केही घरमा क्षति पुगेको छ। ३०.५९ मेगावाटको यारु खोला जलविद्युत् आयोजनाको बेलिब्रिज बगाउनुका साथै निर्माण सामग्री र उपकरणसमेत बाढीले बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ।
यसैगरी, १६ मेगावाटको माछाखोला जलविद्युत् आयोजनाको बेलिब्रिजमा क्षति पुगेको छ। आयोजनास्थलसम्म पुग्ने पहुँच सडक र पुलसमेत प्रभावित भएका छन्।
बाढीका कारण चारवटै आयोजनामा पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन हुन बाँकी रहेको इप्पानले जनाएको छ। प्रारम्भिक विवरणमा उल्लेखित क्षतिको पूर्ण आकलन भएपछि थप जानकारी आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार










प्रतिक्रिया