काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको मुख्य बाढी तल्लो क्षेत्रमा पुगिसकेको र तत्काल चितवनका बस्ती डुबाउने जोखिम नरहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार बाढी बेनीघाट आसपास पुगेको छ। त्यहाँबाट तीनदेखि चार घण्टामा चितवन पुग्ने र त्यसपछि भारतको सीमासम्म पुग्न थप सातदेखि आठ घण्टा लाग्ने अनुमान गरिएको छ।

बूढीगण्डकीमा आरुघाट क्षेत्रमा नदीको सतह करिब सात मिटर बढेको छ भने माथिल्लो क्षेत्रमा आठदेखि नौ मिटरसम्म बढेको प्रारम्भिक आकलन छ। बाढी त्रिशूलीमा मिसिएपछि पानीको सतह तीनदेखि चार मिटरसम्म बढ्न सक्ने अनुमान गरिएको छ।

पराजुलीका अनुसार मुख्य बाढी पार भइसकेकाले तल्लो तटीय क्षेत्रमा बस्ती तथा सडक डुबाउने गरी अर्को ठूलो बाढी आउने सम्भावना तत्काल देखिएको छैन। यद्यपि नदी किनारमा कटान हुन सक्ने र माछा मार्न वा अन्य कामले नदी नजिक जानेहरू जोखिममा पर्न सक्ने उनले बताए।

पहिरोले खोला थुन्दा बाढी आएको आशंका

बूढीगण्डकीमा अचानक ठूलो बाढी आउनुको कारणबारे विभागले अध्ययन गरिरहेको छ। भू–उपग्रहबाट प्राप्त तस्बिरमा ठूलो पहिरो खसेको देखिएकाले त्यसले शाखा खोला थुनेको हुन सक्ने प्रारम्भिक विश्लेषण गरिएको पराजुलीले बताएका छन्।

घटनास्थलको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टरसमेत परिचालन गरिएको छ। माथिल्लो क्षेत्रमा पानी थुनिएको अवस्था र सम्भावित जोखिमबारे स्पष्ट विवरण नआएकाले त्यहाँका बासिन्दालाई बेलुकासम्म सतर्क रहन आग्रह गरिएको छ।

विभागका अनुसार गोरखामा पछिल्लो २४ घण्टामा ठूलो वर्षा भएको देखिएको छैन। बाढीको कारण पहिचान गर्न थप अध्ययन आवश्यक रहेको जनाइएको छ।

६ पुल बगे, १० जना सम्पर्कविहीन

बाढीले गोरखामा दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको छ। कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। चुमनुब्री गाउँपालिका–३ अन्तर्गत पैयुँ र बगरका करिब ३५ घर बगाएको तथा जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा पनि क्षति पुगेको विवरण छ।

प्रारम्भिक विवरणअनुसार बाढीले चारवटा जलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको छ। ३४१ मेगावाटको बूढीगण्डकी आयोजनाको मुख्य क्याम्प क्षेत्र र निर्माण उपकरण बगाएको छ। दोभान खोला, यारु खोला र माछाखोला जलविद्युत् आयोजनाका क्याम्प, पुल, पहुँच सडक तथा निर्माण सामग्रीमा पनि क्षति पुगेको जनाइएको छ।

पूर्वसूचनाले सुरक्षित स्थानमा जान समय मिल्यो

बाढी पूर्वानुमान शाखाका प्रमुख पराजुलीका अनुसार पहिलो सानो बाढी आएपछि पूर्वसूचना जारी गरिएकाले दोस्रो ठूलो बाढी आउनुअघि जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न समय मिलेको देखिएको छ।

यद्यपि बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com