काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनबाट खुलातर्फको महामन्त्रीमा उदयशम्शेर राणा विजयी भएका छन्। राणाले दुई हजार ३३० मत प्राप्त गरेका छन्।
महामन्त्रीमा निर्वाचित भएपछि राणाले सामाजिक सञ्जालमार्फत महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्। उनले आफूलाई पार्टीको महामन्त्री पदमा निर्वाचित गराउन अमूल्य मत प्रदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति धन्यवाद व्यक्त गर्दै आफूहरूमाथि व्यक्त गरिएको विश्वास र सुम्पिएको जिम्मेवारीलाई पार्टी रूपान्तरण, संगठन सुदृढीकरण र देशको समृद्धिका लागि इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
‘यहाँहरूले म प्रति व्यक्त गर्नुभएको विश्वास र सुम्पिनुभएको जिम्मेवारीलाई पार्टी रूपान्तरण, संगठन सुदृढीकरण र देशको समृद्धिका लागि इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन्।
राणाले आफ्नो विजयलाई व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाली कांग्रेसलाई समयानुकूल, जनउत्तरदायी र सुदृढ बनाउने साझा संकल्पका रूपमा व्याख्या गरेका छन्।
लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी सबै साथीहरूप्रति सम्मान व्यक्त गर्दै उनले उनीहरूको विचार, योगदान र अनुभवलाई पार्टीको साझा यात्राको महत्त्वपूर्ण पुँजीका रूपमा लिएको बताएका छन्।
‘यो विजय व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाली कांग्रेसलाई समयानुकूल, जनउत्तरदायी र सुदृढ बनाउने साझा संकल्प हो,’ उनले भने, ‘लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी सम्पूर्ण साथीहरूप्रति सम्मान व्यक्त गर्दै उहाँहरूको विचार, योगदान र अनुभवलाई पार्टीको साझा यात्राको महत्त्वपूर्ण पुँजीका रूपमा लिएको छु।’
राणाले सबै मिलेर कांग्रेसलाई अझ सुदृढ बनाउँदै समुन्नत नेपाल निर्माणको यात्रामा अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
उनले भने, ‘नेपाली कांग्रेसको सुन्दरता नै यही हो, प्रतिस्पर्धामा अनेक विचार, तर पार्टी र राष्ट्रको भविष्य निर्माणमा साझा प्रतिबद्धता। हामी सबै मिलेर कांग्रेसलाई अझ सुदृढ बनाउँदै समुन्नत नेपाल निर्माणको यात्रामा अघि बढ्नेछौँ।’
प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार












प्रतिक्रिया