काठमाडौं । केयरगिभरका रूपमा इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले खड्कालाई थुनामा नराखी अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरीलाई आदेश दिएको हो ।

यस प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कासहित हालसम्म पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्य व्यक्तिमा नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, दोलखाकी बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ रहेका छन् ।

अदालतले खड्कालाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएको निष्कर्ष निकालेको छ । आदेशअनुसार, पक्राउ परेका अन्य प्रतिवादीको बयानमा खड्काको संलग्नताबारे उल्लेख भएको देखिँदैन । त्यसैगरी, पीडितले दिएको जाहेरीमा पनि खड्काले जाहेरवालाबाट रकम लिएको वा ठगीमा संलग्न रहेको पुष्टि हुने तथ्य उल्लेख नभएको अदालतको ठहर छ ।

सीआईबीले सुरुमा पक्राउ परेका व्यक्तिहरूमाथि ठगी कसुरमा अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता खुलेको र योजनाबद्ध रूपमा समूह बनाएर ठगी गरेको देखिएपछि प्रहरीले उनीहरूमाथि संगठित अपराधको कसुरसमेत थप गरेको थियो ।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com