काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसको नेतृत्व चयनमा समावेशिताको प्रश्न उठाएका छन्।
कांग्रेसले समावेशी लोकतन्त्रको नारा दिए पनि नेतृत्व चयनमा विभिन्न समुदाय र प्रदेशको प्रतिनिधित्व कमजोर देखिएको भन्दै उनले प्रश्न उठाएका हुन्।
‘न जनजाति, न दलित। प्रादेशिक हिसाबले पनि मधेश, सुदूरपश्चिम र कर्णाली शून्य। अब टीके बन्ने हो? खोदा पहाड तो निकला चुहा!’ सिंहले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्।
कांग्रेसको सभापतिदेखि महामन्त्रीसम्मका पदमा खस–आर्य समुदायको बर्चस्व देखिएको बताउँदै उनले दलित, मधेसी, थारू, मुस्लिम, आदिवासी जनजाति तथा अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व खोइ भन्दै प्रश्न गरे।
‘समावेशी लोकतन्त्रको चर्को नारा दिने नेपाली कांग्रेसको नेतृत्व चयनमा समावेशिताको वास्तविक तस्बिर कहाँ छ?’ उनले प्रश्न गरे, ‘सभापतिदेखि महामन्त्रीसम्मका पदमा खस–आर्य समुदायको वर्चस्व देखिँदा दलित, मधेसी, थारू, मुस्लिम, आदिवासी जनजाति तथा अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व खोइ?’
कांग्रेसजस्तो ऐतिहासिक लोकतान्त्रिक पार्टीले सबै समुदायलाई समान अवसर र सम्मान दिन सक्नुपर्ने उल्लेख गर्दै उनले नेतृत्व चयनमा समावेशिताको वास्तविक अभ्यास हुनुपर्नेमा जोड दिएका छन्।
‘समावेशिता भाषणमा होइन, नेतृत्वको संरचनामा देखिनुपर्छ’ महिला प्रतिनिधित्वलाई पनि एउटै समुदायमा सीमित गरेर साँचो समावेशिताको दाबी गर्न मिल्दैन। कांग्रेसजस्तो ऐतिहासिक लोकतान्त्रिक पार्टीले सबै समुदायलाई समान अवसर र सम्मान दिन सक्नुपर्छ। नत्र परिवर्तनको नारा केवल नारामै सीमित हुन्छ,’ उनले भने।
नाम नयाँ, नारा नयाँ तर नेतृत्वको चरित्र र प्रतिनिधित्व पुरानै भन्दै उनले जनताले खोजेको परिवर्तन यही हो त? भनेर प्रश्न गरे।
प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया