काठमाडौं । विवादास्पद अडियो सार्वजनिक भएपछि आलोचनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग पार्टीले २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ ।
बागमती प्रदेशकी पूर्वराज्यमन्त्री रहेकी एक महिलाप्रति सांसद सुनारले आपत्तिजनक लाञ्छना लगाउनुका साथै धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले उनीमाथि आन्तरिक छानबिन अघि बढाएको हो ।
पार्टीको केन्द्रीय अनुशासन आयोगले सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोबारे २४ घण्टाभित्र जवाफ दिन सुनारलाई पत्र पठाएको आयोगका एक सदस्यले जानकारी दिए ।
‘माननीय खगेन्द्र सुनारलाई सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका छौँ । उहाँको स्पष्टीकरण प्राप्त भएपछि थप प्रक्रिया अघि बढाउँछौँ,’ आयोगका ती सदस्यले बताए ।
यसअघि पार्टी महामन्त्री विपिनकुमार आचार्यले घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको जानकारी मंगलबार विज्ञप्तिमार्फत दिएका थिए ।
अडियो प्रकरण सार्वजनिक भएपछि पार्टीले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको छ । रास्वपाका केन्द्रीय सदस्यसमेत रहेका सुनारमाथि आवश्यक कारबाही गर्न पार्टीभित्र र बाहिरबाट दबाब बढ्दै गएको छ ।
प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार











प्रतिक्रिया