काठमाडौं । एनसेल र सामसङ नेपालबीचको सहकार्यमा एनसेलका ग्राहकले सामसङका घरायसी विद्युतीय उपकरण खरिद गर्दा ३१ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै दुई कम्पनीले यस्तो सुविधा ल्याएका हुन् । यस योजनाअन्तर्गत सामसङले चाडपर्वका अवसरमा उपलब्ध गराउँदै आएको छुटमा एनसेलका ग्राहकले थप १२ प्रतिशतसम्म छुट पाउनेछन् ।
ग्राहकले पाउने अतिरिक्त छुट उनीहरूले प्रयोग गरिरहेको प्याक वा रेन्टल प्याकमा निर्भर हुनेछ । सोही आधारमा ५, ८ वा १२ प्रतिशतसम्म थप छुट उपलब्ध हुनेछ । यसबाट ग्राहकले कुल खरिद मूल्यमा अधिकतम ३१ प्रतिशतसम्म बचत गर्न सक्ने कम्पनीले जनाएको छ ।
एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा दुई कम्पनीबीचको सहकार्यलाई औपचारिकता दिइएको हो । सहकार्यले ग्राहकलाई थप सुविधा र लाभ प्रदान गर्नुका साथै सेवा तथा खरिद अनुभवलाई सहज बनाउने दुवै कम्पनीको विश्वास छ ।
यो अफर असोज २२ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ । यस अवधिमा ग्राहकले सामसङका टेलिभिजन, फ्रिज, वासिङ मेसिनलगायतका घरायसी विद्युतीय उपकरण खरिद गर्दा छुटको सुविधा लिन सक्नेछन् ।
एनसेलका प्रोडक्ट डाइरेक्टर शारदाले कम्पनीले कनेक्टिभिटी सेवामा मात्र सीमित नभई ग्राहकलाई थप मूल्य र सुविधा उपलब्ध गराउने उद्देश्यले सामसङसँग सहकार्य गरेको बताए ।
उनका अनुसार यस योजनाबाट ग्राहकले विश्वासिलो ब्रान्डका घरायसी उपकरण खरिद गर्दा थप छुट पाउनेछन् । यसले चाडपर्वको खुसीलाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको उनले बताए ।
दुई कम्पनीको यो सहकार्यले एनसेलको देशव्यापी ग्राहक पहुँच र डिजिटल प्लेटफर्मलाई सामसङका उपभोक्ता विद्युतीय उत्पादन तथा आधिकारिक बिक्री सञ्जालसँग जोडेको छ । यसबाट ग्राहकलाई उत्पादन खरिदमा थप सहजता र आर्थिक लाभ पुग्ने अपेक्षा गरिएको छ ।
छुट लिन इच्छुक ग्राहकले सबैभन्दा पहिले एनसेल एपमा रहेको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गएर आफू योग्य भए–नभएको जाँच गर्नुपर्नेछ ।
योग्य ग्राहकले त्यसपछि नेपालभर रहेका सहभागी सामसङका आधिकारिक बिक्री केन्द्रमध्ये आफूलाई पायक पर्ने केन्द्रमा पुगेर छुट सुविधा लिन सक्नेछन् ।
प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया