काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान राजनीतिक परिस्थितिबाट निकास दिन सक्ने एक मात्र शक्ति आफ्नो पार्टी भएको दाबी गरेका छन्।

नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले देशको राजनीतिमा अनिश्चितताको अवस्था रहेको र अन्य राजनीतिक दलहरू असफल भइसकेको टिप्पणी गरे।

लिङ्देनले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीलाई बलियो बनाउन पुरानै कार्यशैली पर्याप्त नहुने बताए। पार्टीको नेतृत्वदेखि कार्यकर्तासम्मले आफूलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो।

उनले आगामी महाधिवेशनलाई पार्टीको पुनर्जीवनको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए। संगठनको पुनर्गठन गर्दै राप्रपालाई मुलुकको नेतृत्व गर्न सक्ने राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने उनले बताए। यसका लागि महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे।

पार्टीको संगठन विस्तार नगरी सीमित कार्यकर्तामा मात्र केन्द्रित रहेर राप्रपालाई ठूलो शक्ति बनाउन नसकिने लिङ्देनको भनाइ थियो। उनले पार्टीमा सबैका लागि ढोका खुला गर्नुपर्ने र संगठनलाई व्यापक बनाउनुपर्ने बताए।

राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको पार्टीको एजेन्डालाई स्थापित गर्न पनि संगठन विस्तार र प्रभावकारी राजनीतिक गतिविधि आवश्यक रहेको उनले उल्लेख गरे।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com