काठमाडौं । दसैंको समयमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा अभिवृद्धिका लागि काठमाडौं उपत्यकामा सञ्चालन गरिएको विशेष ट्राफिक चेकजाँचका क्रममा १५८ जना चालक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले घटस्थापनादेखि असोज २७ गते अपराह्न ५ बजेसम्म चलाएको विशेष अभियानका क्रममा मादक पदार्थ सेवन (मापसे) र लागूऔषध सेवन (लापसे) गरी सवारी चलाउने चालकहरूलाई कारबाही गरिएको हो।

प्रहरीका अनुसार चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने १४९ जना चालक पक्राउ परेका छन्, जसमध्ये ९ जना सार्वजनिक सवारी साधनका चालक रहेका छन्। त्यस्तै, लागूऔषध सेवन गरी सार्वजनिक सवारी साधन चलाइरहेका अन्य ९ जना चालकलाई समेत नियन्त्रणमा लिएर कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

चाडपर्वको समयमा उपत्यका भित्रिने र बाहिरिने यात्रुको चाप अत्यधिक हुने भएकाले सम्भावित दुर्घटना रोक्न र यात्रुको यात्रा सुरक्षित बनाउन चेकिङ तीव्र पारिएको हो। विशेष अभियानकै क्रममा यान्त्रिक अवस्था दुरुस्त नरहेका ६० वटा सार्वजनिक सवारी साधन र तीव्र गतिमा हांकिएका ७६ वटा सवारी साधनलाई समेत कारबाहीको दायरामा ल्याइएको छ।

ट्राफिक नियमको पूर्ण पालना गराउन, सवारी साधनको प्राविधिक अवस्था जाँच्न र मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउने गैरजिम्मेवार प्रवृत्ति नियन्त्रण गर्न यो अभियान सञ्चालन गरिएको प्रहरीको भनाइ छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सम्पूर्ण चालकहरूलाई सवारी साधनको अवस्था दुरुस्त राखेर मात्र चलाउन र कुनै पनि नशाजन्य पदार्थ सेवन गरेर सवारी नहाँक्न पुनः अपिल गरेको छ।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com