काठमाडौं । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ ।

उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो ।

शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको बताउँदै यसै चालु आर्थिक वर्षमा ती विद्यालयहरूको संरचना सुदृढीकरणका लागि कूल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनाएका छन् ।

मन्त्री पोखरेलका अनुसार, यस योजनाअन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको हो । निकासा भएको रकममार्फत अहिले विद्यालयहरूमा अत्याधुनिक १२ कोठे तीन तले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइने भएको छ ।

प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा बन्ने यी भवनहरूमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ । यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलले बताएका छन् ।

’कतिपय सामुदायिक विद्यालयहरूमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालयहरू विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौँ । विद्यालयहरूबीचको यो असमानतालाई चिर्न हामीले अहिले ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरेका हौँ,’ उनले भने, ’आगामी दिनमा देशका सम्पूर्ण सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार समान रूपमा सुदृढ बनाउँदै यो असमानता सधैँका लागि अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।’

साथै देशको भविष्य निर्माणमा अहोरात्र खट्ने सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई धन्यवाद दिदै मन्त्री पोखरेलले सामुदायिक शिक्षाको मुहार फेर्न सबैको सहकार्य र हातेमालोको आह्वान गरेका छन् ।

प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com