काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले जापानको स्थायी आवासीय अनुमति (पीआर) त्यागिसकेको दाबी गरेका छन्।
बुधबार संसदीय सुनुवाइका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै थापाले आफूले जापानको पीआर त्यागेको बताएका हुन्। उनको पीआर त्यागेको अवधि र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाको व्यवस्थालाई लिएर सांसदहरूले प्रश्न उठाएका थिए।
सांसदहरू पद्मा अर्याल, मधु चौलागाईं र राजीव खत्रीलगायतले जापानको पीआर त्यागेपछि नेपालको नागरिकताको अवस्था के हुने र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा रहेको १० वर्षे प्रावधान कसरी लागू हुने भन्नेबारे जिज्ञासा राखेका थिए।
सांसदहरूले रवि लामिछानेको प्रकरणसमेत स्मरण गराउँदै पीआर त्यागेको १० वर्ष हुनुपर्ने व्यवस्था रहेको अवस्थामा थापाले करिब छ महिनाअघि मात्रै पीआर त्यागेको भन्ने विवरणले निर्देशिकाको व्यवस्थासँग मेल खान्छ कि खाँदैन भनेर प्रश्न गरेका थिए।
सांसद मधु चौलागाईंले सरकारी तलबभत्ता लिएको व्यक्तिको नागरिकता र पीआरसम्बन्धी अवस्थाबारे स्पष्ट हुनुपर्ने बताइन्।
‘सरकारी तलबभत्ता खाएको नागरिकताको स्ट्याटस के हुन्छ ? पनागाभाको गभर्नरको सल्लाहकार भएको भनिएको छ। निर्देशिकाले १० वर्ष भन्छ तर पीआर त्यागेको ६ महिना भएको छ। यो त्याग रणनीतिक मात्र हो भनेर किन नभन्ने ? हामीलाई पठाउन आपत्ति होइन, तर देशको साख जोगाउने मुख्य कुरा हो,’ उनले भनिन्।
जवाफमा प्रस्तावित राजदूत थापाले आफूले विगतमा पनि कूटनीतिक सम्बन्ध विस्तारका लागि काम गरेको र जापानमा रहँदा नेपाललाई सहयोग पुर्याएको दाबी गरे। आगामी दिनमा पनि नेपालका लागि सेवा गर्न जापान नै रोजेको उनको भनाइ थियो।
आफ्नो पारिवारिक अवस्थाबारे स्पष्ट पार्दै थापाले श्रीमती र दुई छोरा जापानमा बस्ने भए पनि उनीहरू सबैको नागरिकता नेपाली नै रहेको बताए।
‘मेरो श्रीमती र दुई छोरा जापानमा बस्छन्। उनीहरूको नागरिकता नेपाली नै छ। हामी कहिल्यै नेपालबाट भावनात्मक रूपमा टाढा भएका छैनौँ,’ उनले भने।
उनले जापानमा अहिलेसम्म आफूले कुनै कम्पनी स्थापना नगरेको पनि दाबी गरे। राजदूत पदमा आफ्नो नाम अनुमोदन भए परिवारको अवस्थाबारे कानुनले तोकेको प्रक्रियाअनुसार अघि बढ्ने उनले बताए।
सुनुवाइका क्रममा जापानमा रहेको आफ्नो घरबारे पनि सांसदहरूले चासो राखेका थिए। जवाफमा थापाले टोकियोभन्दा निकै टाढा आफ्नो परिवारको घर रहेको स्वीकार गरे।
‘चार आना पनि नभएको जग्गामा सानो घर छ। त्यो श्रीमतीको स्वामित्वमा छ। त्यहाँ कानुनी हिसाबले काम गरेर कमाएको पैसाले घर किन्न पनि पाइन्छ,’ उनले भने।
प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार












प्रतिक्रिया