काठमाडौं । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरिबहादुर सुनारले आफूमाथि लागेको महिला हिंसाको आरोप अस्वीकार गरेका छन्। संसदीय सुनुवाइका क्रममा उनले आरोप लगाउने महिलासँग पहिले प्रेम सम्बन्ध रहेको र उनी विदेश गएपछि फोनमा सामान्य भनाभन मात्रै भएको दाबी गरेका छन्।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सुनारले आफूले महिला हिंसा नगरेको जिकिर गरे। उनले भने, ‘हामी पहिले प्रेम सम्बन्धमा थियौँ, उहाँ विदेश गएपछि फोनमा सामान्य भनाभन मात्र भएको हो।’

सुनारले आफ्नो भनाइ पुष्टि गर्न प्रमाणसमेत पेस गरेको दाबी गर्दै फोनमा भएको भनाभनलाई महिला हिंसाका रूपमा व्याख्या गर्न नमिल्ने तर्क गरे। आफूले हिंसा नगरेको भन्दै उनले आरोपलाई दलितमाथिको हिंसासँग जोडेर प्रस्तुत गरे।

‘मैले महिला हिंसा गरेको छैन, फोनमा भनाभन भएको इस्यु नै मानिन्छ भने सहुँला, तर यहाँ दलितमाथि हिंसा भएको छ। उहाँ रुनुको कारण केही खोसिन्छ भनेर हो, यही छ प्रमाण,’ उनले भने।

कुनै महिला रोएकै आधारमा आफू राजदूतका लागि अयोग्य नहुने उनको जिकिर थियो।

छलफलका क्रममा समिति सदस्य वर्षमान पुनले विवाद उत्पन्न भइसकेको अवस्थामा प्रस्तावित राजदूतले आफ्नो नाम फिर्ता लिनु उपयुक्त हुने सुझाव दिए।

त्यस्तै, सांसद पद्मा अर्यालले सुनारमाथि लागेको आरोप गम्भीर प्रकृतिको रहेको बताइन्। पीडितको निवेदन र प्रस्तुत विवरणलाई ध्यानमा राख्दा एक पक्षको कुरा मात्रै सुनेको भए प्रस्तावित राजदूतको अनुहारसमेत हेर्न नसक्ने अवस्था रहेको उनको भनाइ थियो।

अर्यालले राजदूत नियुक्तिका लागि उच्च नैतिक चरित्र अनिवार्य हुनुपर्ने उल्लेख गर्दै सुनारलाई कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताइन्।

‘तपाईँमाथि जे आरोप लाग्यो, त्यो धेरै गम्भीर लाग्यो,’ उनले भनिन्, ‘जतिबेला प्रेम सम्बन्धको कुरा छ, तपाईँको पनि श्रीमती छन्। घरमा श्रीमती भएको श्रीमान् परस्त्रीसँग प्रेम सम्बन्ध गर्नु भएको छ, यो नैतिक आचरणविपरीत छ र अनि महिला हिंसा हुँदैन?’

समिति सदस्य प्रेम दंगालले पनि दुईवटा कारणले सुनारलाई राजदूतका रूपमा सिफारिस गर्न नसकिने धारणा राखेका थिए। सुनुवाइका क्रममा सांसदहरूले सुनारमाथि लागेको आरोप, उनको व्यक्तिगत आचरण र राजदूत नियुक्तिका लागि आवश्यक नैतिक मापदण्डबारे प्रश्न उठाएका छन्।

प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com