काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक उम्मेदवार छनोटको रूपरेखा तयार पारेको छ।
पार्टीले उम्मेदवार छनोटमा व्यक्तिगत पहुँच, नातासम्बन्ध, आर्थिक हैसियत र नेतृत्वको स्वेच्छाचारी निर्णयको प्रभाव घटाउँदै योग्यता, नैतिकता, जनविश्वास र नेतृत्व क्षमतालाई प्राथमिकता दिने जनाएको छ।
रास्वपाका अनुसार उम्मेदवार छनोटको प्रक्रिया चुनाव जित्ने व्यक्तिको खोजीमा मात्र सीमित नभई स्थानीय सरकारलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउन सक्ने नेतृत्व पहिचान गर्ने माध्यम हुनेछ।
पार्टीले नेपाली राजनीतिमा उम्मेदवार छनोटका क्रममा पैसा, बाहुबल, सीमित व्यक्तिको प्रभाव र नेतृत्वलाई रिझाउने प्रवृत्ति हाबी हुने गरेको उल्लेख गर्दै त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
रूपरेखामा वैज्ञानिक छनोट प्रणाली स्थापना, निर्णय प्रक्रियाको दस्तावेजीकरण, नेतृत्व विकास, आन्तरिक लोकतन्त्र सुदृढीकरण र स्थानीय आवश्यकता बुझ्ने नेतृत्व पहिचान गर्नेलगायत १२ वटा उद्देश्य निर्धारण गरिएको छ।
त्यस्तै, महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, युवा तथा पिछडिएको क्षेत्रका नागरिकलाई उम्मेदवारी प्रक्रियामा समान अवसर उपलब्ध गराउने लक्ष्य राखिएको छ।
उम्मेदवार छनोट गर्दा सार्वजनिक आचरण, इमानदारी, वित्तीय पारदर्शिता, कानुनी तथा सामाजिक विश्वसनीयता, जनस्वीकृति र निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतालाई समेत मूल्याङ्कनको आधार बनाइने पार्टीले जनाएको छ।
उम्मेदवार बन्नुअघि प्रशिक्षण अनिवार्य
रास्वपाले उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुनुअघि आकांक्षीलाई स्थानीय शासन, सुशासन, सार्वजनिक वित्त, नीतिनिर्माण, नागरिक सेवा र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिने व्यवस्था समेटेको छ।
स्थानीय तहको भौगोलिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्था बुझ्ने र उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालन गर्न सक्ने व्यक्तिलाई प्राथमिकता दिइने रूपरेखामा उल्लेख छ।
वडादेखि पालिकासम्मका पार्टी संरचनाको भूमिका सन्तुलित बनाउँदै तल्लो तहबाटै लोकतान्त्रिक, सहभागितामूलक र प्रतिस्पर्धात्मक अभ्यासलाई बलियो बनाउने लक्ष्यसमेत राखिएको छ।
उम्मेदवारको सिफारिस, मूल्याङ्कन र छनोटका प्रत्येक चरणको अभिलेख राखिनेछ। यसबाट उम्मेदवार कुन आधारमा छनोट भयो भन्ने विषय पारदर्शी र परीक्षणयोग्य हुने पार्टीको अपेक्षा छ।
रास्वपाले नेपालको संविधान र प्रचलित निर्वाचन कानुनअनुसार स्थानीय तह निर्वाचनमा सहभागी हुने स्पष्ट पार्दै प्रत्येक निर्वाचन चक्रपछि छनोट प्रक्रियाको समीक्षा गरी कमजोरी सुधार गर्ने व्यवस्था पनि रूपरेखामा समेटेको जनाएको छ।
प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार












प्रतिक्रिया