काठमाडौं । आफूहरूलाई ‘एमाले सिध्याउन विदेशीहरूबाट परिचालित एजेन्ट’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा तस्बिरसहितका सामग्री पोस्ट गरेर चरित्रहत्या गरिएको आरोपमा पाँच जनाले साइबर ब्युरोमा उजुरी दिएका छन्।
२०८३ असोज २८ गते साइबर ब्युरो, भोटाहिटी, काठमाडौँमा दिइएको उजुरीमा जेनिसा तामाङ नाम गरेको फेसबुकबाट आफूहरूको सामाजिक तथा राजनीतिक प्रतिष्ठामा आँच पुग्ने सामग्री सार्वजनिक गरेको आरोप छ। उजुरीकर्ताहरूले उक्त सामग्रीमार्फत आफूहरूप्रति समाजमा घृणा फैलाउने प्रयास गरिएको दाबी गरेका छन्।
उजुरीमा फेसबुक प्रोफाइलमार्फत आफूहरूको तस्बिरसहित अपमानजनक प्रकृतिका सामग्री पोस्ट गरिएको तथा ती सामग्री समूह बनाएर सेयर गरिएको र अरूलाई समेत सेयर गर्न लगाइएको उल्लेख छ।
उक्त कार्य विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुर भएको जिकिर गर्दै उजुरीकर्ताहरूले आरोपित फेसबुक आईडी सञ्चालकमाथि अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।
साइबर ब्युरोमा उजुरी दिनेमा एमाले नेताहरु पाल्पाको बगनासकाली गाउँपालिका–८ का ठाकुर प्रसाद गैहे, धादिङको कम्पुर–४ का गजेन्द्र प्रसाद थपलिया, नुवाकोटको गोर्स्याङ–७ की उषा किरण तिम्सेना, दोलखाको भीमेश्वर नगरपालिका–६ की रचना बड्का र कैलालीको लम्कीचुहा नगरपालिका–९ का झपट बहादुर रावल रहेका छन्।
प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार












प्रतिक्रिया