काठमाडौं । बलिउड अभिनेता तथा आमिर खानका भान्जा इमरान खानलाई अक्टोबर २८, २०२६ भित्र भारत छाड्न भारतीय अधिकारीहरूले नोटिस जारी गरेको समाचार सार्वजनिक भएको छ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध मुम्बईमा आयोजित विरोध प्रदर्शनमा सहभागी भएको विषयलाई लिएर उनीमाथि विदेशी नागरिकसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोप लगाइएको छ।
अक्टोबर १० मा मुम्बईको अगस्ट क्रान्ति मैदानमा मतदाता सूची परिमार्जन र मुख्य निर्वाचन आयुक्तको निष्पक्षताबारे प्रश्न उठाउँदै प्रदर्शन गरिएको थियो। उक्त प्रदर्शनमा सहभागी भएका इमरानलाई प्रहरीले केही समय नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ।
भारतीय जनता पार्टीका नेता किरीट सोमैयाले इमरान अमेरिकी नागरिक भएको र उनीसँग ‘ओभरसिज सिटिजन अफ इन्डिया’ (ओसीआई) कार्ड रहेको दाबी गर्दै प्रहरी र गृह मन्त्रालयमा उजुरी दिएका थिए। उनले विदेशी नागरिकले भारतमा राजनीतिक प्रदर्शनमा सहभागी हुन नपाउने दाबी गरेका थिए।
उजुरीमाथि अनुसन्धानपछि उक्त विषय विदेशी क्षेत्रीय दर्ता कार्यालय (एफआरआरओ) मा पठाइएको थियो। समाचारअनुसार कार्यालयले इमिग्रेसन एन्ड फरेनर्स एक्टका प्रावधान उल्लङ्घन गरेको आरोपसहित उनलाई भारत छाड्न नोटिस जारी गरेको हो।
यस घटनाले भारतमा रहेका विदेशी नागरिक तथा ओसीआई कार्डधारकको राजनीतिक गतिविधिमा सहभागितासम्बन्धी कानुनी व्यवस्थाबारे बहस सिर्जना गरेको छ।
प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया