काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ।
समितिका सचिव तुलबहादुर कँडेलका अनुसार प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ देखि १९ गतेसम्म उजुरी दिन सकिनेछ। सर्वसाधारण तथा सरोकारवालाले तोकिएको समयभित्र उजुरी दर्ता गराउन सक्नेछन्।
असोज २६ गते बसेको समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको हो। न्याय परिषद्को पत्राचारअनुसार सुनुवाइ प्रक्रिया अघि बढाइने समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन्।
न्याय परिषद्ले असोज २० गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरेको थियो। सिफारिस हुनेमा उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीश चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन्।
उजुरी दिने समय सकिएपछि समितिले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार















प्रतिक्रिया