काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न अनुसन्धान र तथ्यमा आधारित नीति निर्माण आवश्यक रहेको बताएका छन्।
पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै उनले देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा वातावरणीय अवस्थाको गहन अध्ययन गरेर भविष्यको विकास मार्ग तय गर्नुपर्ने बताए।
ओलीले कृषि, पूर्वाधार, अर्थतन्त्र र परराष्ट्र नीतिलगायतका क्षेत्रमा दीर्घकालीन सोचसहित नीति बनाउनुपर्नेमा जोड दिए। उनका अनुसार नीति निर्माण गर्दा तत्कालीन समस्याको समाधानसँगै भविष्यका आवश्यकतालाई पनि ध्यान दिनुपर्छ।
राज्यको मुख्य उद्देश्य नागरिकको जीवनस्तर उकास्ने, गरिबी न्यूनीकरण गर्ने र आधारभूत आवश्यकता सुनिश्चित गर्ने हुनुपर्ने उनले बताए। रोजगारीबाट प्राप्त आम्दानीले परिवारको आधारभूत आवश्यकता पूरा गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।
उनले मानवतावाद, समानता, न्याय, सुरक्षा, समृद्धि र सम्मानजनक जीवनलाई आफूहरूले परिकल्पना गरेको समाजवादको आधारका रूपमा व्याख्या गरे। राजनीतिक अधिकारसँगै नागरिकका आर्थिक तथा सामाजिक अधिकार सुनिश्चित हुने लोकतन्त्र आवश्यक रहेको पनि उनले बताए।
नीति निर्माणका क्रममा समाजका विभिन्न तहका नागरिक, बुद्धिजीवी र विषयविज्ञसँग छलफल गर्नुपर्ने उल्लेख गर्दै ओलीले अनुसन्धानबिनाको नीति मनोगत हुने र त्यसले अपेक्षित परिणाम दिन नसक्ने धारणा राखे।
विगतका अनुभव, वर्तमान अवस्थाको विश्लेषण र भविष्यका आवश्यकतालाई समेटेर नीति निर्माण गर्नु प्रतिष्ठानको महत्त्वपूर्ण जिम्मेवारी भएको उनले बताए।
प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार















प्रतिक्रिया