काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ७१औँ प्रहरी दिवस तथा बडादसैँ, शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना व्यक्त गरेका छन्।

उनले नेपाल प्रहरीका बहालवाला तथा पूर्वप्रहरी कर्मचारी, प्रहरी परिवार, अमर प्रहरीका परिवारजन तथा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुस्वास्थ्य, व्यावसायिक सफलता, पारिवारिक सुख, समृद्धि र उज्ज्वल भविष्यको कामना गरेका छन्।

शुभकामना सन्देशमा आईजीपी कार्कीले २०१२ सालको प्रहरी ऐनमार्फत संस्थागत स्वरूप प्राप्त गरेको नेपाल प्रहरीले सात दशक लामो गौरवशाली यात्रामा विभिन्न आरोह–अवरोह र परिवर्तनलाई आत्मसात् गर्दै राष्ट्र र नागरिकको सेवामा अग्रपङ्क्तिमा रहेर काम गर्दै आएको उल्लेख गरेका छन्।

राष्ट्र र नागरिकको सेवामा जीवन उत्सर्ग गर्ने अमर प्रहरीहरूको बलिदान अतुलनीय रहेको उल्लेख गर्दै उनले उनीहरूका परिवारले भोग्नुपरेको पीडा नेपाल प्रहरीको साझा दायित्व र उत्तरदायित्वसँग जोडिएको बताएका छन्। वीर अमर प्रहरीको त्यागको उच्च सम्मान गर्दै उनीहरूका परिवारको हकहित संरक्षण र कल्याण सुनिश्चित गर्न नेपाल प्रहरी सदैव प्रतिबद्ध रहने उनले बताएका छन्।

त्यस्तै, घाइते तथा अशक्त प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संगठनको पहिचान, प्रतिष्ठा र विश्वसनीयता निर्माणमा जीवनको महत्त्वपूर्ण समय समर्पण गर्ने अग्रज प्रहरी कर्मचारीप्रति उनले सम्मान तथा आभार व्यक्त गरेका छन्।

इतिहासका विभिन्न कालखण्डमा अग्रजहरूले स्थापित गरेको गौरवमय परम्परालाई आत्मसात् गर्दै इमानदारी, कर्तव्यनिष्ठता र निर्भीकताका साथ राष्ट्र तथा नागरिकको सेवामा समर्पित प्रहरी कर्मचारीको योगदानको उच्च कदर गरिएको बताए।

नेपाल प्रहरीको संस्थागत विकास, क्षमता अभिवृद्धि तथा सेवा सुदृढीकरणमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सहयोगी निकाय र आमनागरिकबाट प्राप्त सहयोग, सद्भाव तथा विश्वासप्रति पनि उनले संगठनका तर्फबाट कृतज्ञता व्यक्त गरेका छन्।

‘विपद्मा सारथि, संकटमा छाया, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने आदर्श वाक्यलाई अघि बढाउँदै बदलिँदो सामाजिक, आर्थिक, राजनीतिक तथा प्राविधिक परिवेशसँगै विकसित सुरक्षा चुनौतीको प्रभावकारी सामना गर्न नेपाल प्रहरीलाई अझ सक्षम, व्यावसायिक, प्रविधिमैत्री र नागरिकप्रति उत्तरदायी संगठनका रूपमा विकास गर्नु प्रमुख प्राथमिकता रहेको कार्कीले बताएका छन्।

प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This