काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई आधुनिक, व्यावसायिक र सक्षम बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गरी नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको बताएका छन्।
७१औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले नयाँ कानुनमार्फत प्रहरी कर्मचारीको सेवा अवधि, वृत्ति विकास, सरुवा–बढुवा र सेवा सुविधामा सुधार गरिने बताए।
प्रहरी कर्मचारीको मूल्याङ्कन हाकिमलाई रिझाएको आधारमा नभई काम र नतिजाका आधारमा गरिने प्रणाली विकास गरिने उनको भनाइ छ। प्रहरीका लागि आवश्यक भौतिक पूर्वाधार र प्रविधिमा लगानी गर्नु सरकारको प्राथमिकता रहेको उनले बताए।
गुरुङले प्रहरी कर्मचारीका आवास, स्वास्थ्यलगायतका सुविधा वृद्धि गर्ने तथा सरुवा–बढुवा प्रणालीलाई पारदर्शी बनाउने जानकारी दिए। प्रहरी प्रशासनका कामलाई पूर्ण रूपमा डिजिटल बनाउने प्रक्रिया पनि सुरु भइसकेको उनले बताए।
अवकाशप्राप्त सुरक्षाकर्मीको अनुभव, ज्ञान र सीप राज्यको हितमा उपयोग गर्ने नीति अघि बढाइएको उल्लेख गर्दै उनले विपद् उद्धारमा खटिने सुरक्षाकर्मीका लागि जोखिम भत्ता तथा खाजा खर्चको व्यवस्था गरिएको बताए। प्रहरीको दरबन्दी थप गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत प्रस्ताव अघि बढाइएको पनि उनले जानकारी दिए।
भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध सम्झौता नगर्ने प्रतिबद्धता जनाउँदै गृहमन्त्री गुरुङले अपराध नियन्त्रणमा कडा नीति अपनाउन प्रहरीलाई निर्देशन दिए। भीड नियन्त्रण र बल प्रयोग गर्दा आवश्यकता, आनुपातिकता तथा जवाफदेहिताको सिद्धान्त पालना गर्नुपर्नेमा पनि उनले जोड दिए।
अन्तरदेशीय अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरीलाई सक्षम बनाइने बताउँदै उनले सीमापार अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्य र सूचना आदानप्रदानलाई तीव्रता दिइएको उल्लेख गरे। भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठक तथा भारतीय समकक्षीसँगको छलफलमा आधुनिक प्रविधिको उपयोग र सूचना आदानप्रदानबारे जोड दिइएको उनले बताए।
वि.सं. २०१२ मा प्रहरी ऐन जारी भएको दिनको स्मरण गर्दै उनले प्रहरी दिवस संगठनको वार्षिक उत्सव मात्र नभई प्रहरीको ७१ वर्ष लामो सेवा, त्याग र बलिदानको सम्मान भएको बताए।
रसुवाको भोटेकोशी, मनाङ, मुस्ताङ र बुढीगण्डकी क्षेत्रमा आएको बाढीका बेला सहकर्मी गुमाउँदा वा बेपत्ता हुँदा पनि उद्धारमा खटिएका प्रहरी कर्मचारीको धैर्य र समर्पणको सरकारले उच्च मूल्याङ्कन गरेको उनको भनाइ थियो।
प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया