उदयपुर । उदयपुरको कटारीमा सवारी दुर्घटनामा परी स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित स्थानीयवासीले प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले आइतबार बिहानदेखि मदन भण्डारी राजमार्गअन्तर्गत कटारीको बुद्धचोकमा सडक अवरुद्ध गरेका हुन्।

शिक्षकको मृत्युलाई लिएर स्थानीयवासी आक्रोशित बनेपछि राजमार्गमा यातायात आवागमन प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वतर्फ जाने यात्रुहरू समस्यामा परेका छन्।

प्रहरीका अनुसार शनिबार राति करिब ११ बजे पूर्वबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६८४४ नम्बरको हायसले कटारी नगरपालिका–५, भोर्लेमा मोटरसाइकललाई ठक्कर दिएको थियो। को १ प ९६६२ नम्बरको मोटरसाइकलमा सवार शिक्षक श्रेष्ठ दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।

कटारी प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्‍याइएका श्रेष्ठलाई चिकित्सकले मृत घोषणा गरेका थिए। उनी स्थानीय भुल्के स्कुलमा शिक्षकका रूपमा कार्यरत थिए।

स्थानीय मधु धमलाका अनुसार घर फर्किने क्रममा रहेका श्रेष्ठ सवार मोटरसाइकललाई हायसले ठक्कर दिएको थियो।

दुर्घटनामा संलग्न चालकलाई कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै स्थानीयवासी सडकमा उत्रिएका हुन्।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र खरेलले दुर्घटनामा संलग्न हायस चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

शिक्षकको मृत्युपछि सुरु भएको प्रदर्शनका कारण मदन भण्डारी राजमार्गमा यातायात सेवा प्रभावित बनेको छ।

प्रकाशित मिति: २ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com