वीरगञ्ज । पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–४ का ४८ वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका–८ का ४९ वर्षीय अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का ४७ वर्षीय सुवास कुमार, परवानीपुर गाउँपालिका–५ का ३५ वर्षीय सुनिल पटेल र रौतहटको बौधिमाई नगरपालिका–९ का ५० वर्षीय सुमेश्वरनाथ प्रसाद रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१४, गण्डकस्थित ‘गोल्डेन फिंगर गेमिङ जोन प्रालि’ मा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेल्ने तथा खेलाउने कार्य भइरहेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो।
सोमबार साँझ करिब ७ः३० बजे गरिएको छापा क्रममा नेपाली नागरिकलाई जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपालको कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न प्रतिबन्ध लगाइएको छ।
प्रकाशित मिति: ५ कार्तिक २०८३, बुधबार












प्रतिक्रिया